कैलालीको १०१ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विषेश पैदल गस्ती
2024/04/20, 4:13
 
ss

कैलालीका सीमा क्षेत्रहरुमा आपराधिक क्रियाकलाप बढन थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती सुरुवात गरिएको हो । यस गस्तीले सीमा क्षेत्रका सर्वसाधारणलाई सीमामा हुने अपराधका बारेमा जनचेतना पनि दिनेछ । 

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीको भारतसँग १०१ किलोमिटर लामो खुला सीमाना छ । धनगढी उपमहानरपालिकाको वडा नम्बर २ देखि टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोली सहितको पैदल गस्ती सुरु गरेको हो । गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरुलाई पार्ने प्रभाव, दैबी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्रिर्या गर्नेछ ।

‘हामीले सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न, चोरी तस्करी रोक्न, लागुऔषधको कारोबार रोक्न र दैवि प्रकोपबाट सीमा क्षेत्रका जनतालाई बच्ने उपाय सीकाउनका लागि स्पेशल पैदल गस्ती सुरु गरेका हौं’ सशस्त्र प्रहरी गण नम्बर ३४ हेडक्वार्टर कैलालीका एसपी दलबहादुर पाण्डेले भने । 

सशस्त्र प्रहरीले प्रहरी निरिक्षक पुस्कर बहादुर बमको कमाण्डमा ३५ जनाको हतियार सहितको टोली पैदल गस्तीमा पठाएको हो । उनीहरुले १०१ किलोमिटर लामो सीमा क्षेत्र ७ दिनमा सक्नेछन । सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी रोक्ने, आगलागी जस्ता विपदमा सहयोग गर्ने र जनचेतना फैलाउने काय यस टोलीले गर्नेछ ।

‘कैलालीको त्रिनगर देखि टीकापुरको श्रीलंका टापुसम्म हाम्रो गस्ती रहने छ । हामीले सीमा क्षेत्रमा सबै पक्षसँग समुन्वय गरेर कार्यक्रम गर्ने, सीमाको रक्षा र सुरक्षाका उपायहरु बताउने कार्यहरु पनि गर्नेछौ’ पैदल गस्तीका कमाण्डर सशस्त्र प्रहरी निरिक्षक पुस्कर बहादुर बमले भने । सशस्त्र प्रहरी नम्बर ३४ गण हेडक्वार्टरका प्रमुख एसपी दल बहादुर पाण्डेले शनिबार विहान धनगढीको त्रिनगर नाकाबाट टोलीलाई विदाई गरे । 

सशस्त्र प्रहरीले भारतीय सुरक्षाकर्मी, भारतीय र नेपाली जनप्रतिनिधिहरुसँग पनि ठाउँ ठाउँमा अन्तक्रिया र सीमाका समस्याका बारेमा छलफल गर्नेछ । कार्यक्रममा धनगढी उपमहानगरपालिका २ का वडाध्यक्ष धर्मराज ओझाले सीमा क्षेत्रमा हुने पैदल गस्तीले  जनतामा शान्ति सुरक्षाको अनुभूती हुने बताए ।