सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा अन्योलता
2024/04/21, 12:53
 
ss

सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारमा अन्योलता देखीएको छ। मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेको तेस्रो दिनसम्म सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागबन्डा र पावर शेयरिङका विषयमा ठोस सहमति नहुँदा सरकार विस्तार अन्योलता देखिएको पाइएको हो।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारी बिहीबार मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका थिए । यस्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका उनको शुक्रबारमात्रै पदभार ग्रहण भएको थियो । सुदूरपश्चिममा सत्ता गठबन्धनमा रहेका दुई ठूला घटक सरकारमा सहभागी भएका छैनन् ।

एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले प्रदेशसभा सदस्य धर्मराज पाठकले पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरे पनि यस विषयमा थप छलफल भइरहेको जानकारी दिए । हामीले सरकारलाई समर्थन गरेपनी तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको उनले बताए । यस विषयमा सत्ता गठबन्धनका घटकहरूबीच पनि छलफल भइरहेको र शीर्ष नेताहरूबीच संवाद जारी रहेको बताए । छलफलपछि सरकार विस्तारलगायतको विषयमा निष्कर्षमा पुग्ने उनले बताए ।

अहिलेसम्म नयाँ सरकारमा सहभागिता नजनाएको माओवादी केन्द्र पनि छलफलमा छ। माओवादीले प्रदेशअन्तर्गत उपलब्ध केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक बोलाएको छ । उक्त बैठकले सरकारका विषयमा ठोस धारणा तयार गर्ने माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए ।नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याका कारण पनि सरकार विस्तारमा ढिलाइ भएको बताइन्छ। नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र टीका थापालाई बिहीबार नै मन्त्रीको शपथ गराउने तयारी थियो। तत्काल दुबै जनालाई विनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएर पछि मन्त्रालय तोक्ने सहमति भएको थियो ।

तर, मन्त्रालय नतोकिँदासम्म शपथ नगर्ने बताएपछि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइयो । टीका थापा भने शपथ ग्रहण स्थलबाटै बाहिर निस्किइन् । भोलिपल्ट उनले सरकारलाई आफ्नो समर्थन नरहेको भन्दै सामाजिक सञ्जालमै घोषणा गरिन् ।मुख्यमन्त्री सोडारीले शीर्ष नेताहरूबीच छलफल जारी रहेको भन्दै चाँडै सरकार विस्तार हुने बताए ।एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी रहेको र त्यसका लागि सबै नेता काठमाडौं गएको हुँदा केही ढिलाइ भएको उनले दाबी गरे । माओवादीको सवालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम आएकाले सो विषयमा छलफल हुने बताए ।