सिँचाइ योजना अलपत्र पर्दा खेतीयोग्य जमिन बाँझै
2024/04/26, 5:37
 
dd

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६र७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुनेरनहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।

सिँचाइ योजना निर्माण सुरु भएपछि खुसी भएका स्थानीयवासी योजना अलपत्र पर्दा दुःखी बनेका छन् । दुर्गम गाउँमा आएको सिँचाइ योजना अलपत्र पर्दा स्थानीयले सास्ती भोग्नु परेको लोकेन्द्र ऐरीले बताए। कोरोनालगायत विभिन्न विपत्का कारणले आ।व। २०७७र७८ मा आएको थप १५ लाख रुपियाँसमेत फ्रिज भएको स्थानीय उपभोक्ता ऐरीले बताए । उनले योजनाको डिजाइन स्टिमेटमा मुहानमा ९० सेन्टिमिटरको पाइप राख्ने भनिए पनि हिउँदमा पानी घटेर ४० सेन्टिमिटरभन्दा कम भएपछि योजना पूरा हुन नसकेको बताए। स्यापागैर मुहानमा बर्खामा बढी पानी र हिउँदमा घट्ने गरेको छ।

पाइपका कारण पानी नचढेको स्थानीयले बताएका छन् । सिँचाइ योजना पूरा हुन सके गाउँमा खानेपानीको समस्यासमेत समाधान हुने देखिएको छ । गाउँ वरपर रहेको पानीका मुहान सुकेपछि स्थानीय भूमिराज आधारभूत विद्यालयको दिवा खाजा पकाउन धेरै टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको सो विद्यालयले जनाएको छ । पछिल्लो समय गाउँमा खानेपानीका मुहानसमेत सुक्दै गएका छन् । यहाँको प्रत्येक गाउँमा पिउने पानीको समेत हाहाकार भएको स्थानीय जगदीश भट्टले बताए। अलपत्र परेको सिँचाइ योजनाका विषयमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख डम्बरप्रसाद धितालले सिँचाइ योजनाका सम्बन्धमा उपभोक्तासँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।गोरखापत्र