सुदूरपश्चिमको कृषि मन्त्रीमा नाउपाकी टीका थापा नियुक्त
2024/04/30, 5:49
 
ss

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो। तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन्।

उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने विज्ञप्ति जारी गरेकी थिइन्। मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो। नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् । अब मुख्यमन्त्री सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन्। एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।