मुख्यमन्त्री सोडारीले विश्वासको मत लिए संसद् अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
2024/05/02, 3:01
 
ss

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै  कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’

त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।  उनले भने, ‘उनले विश्वासको मत पाउने, नपाउने आफ्नो ठाउँमा छ । तर हामी विधि पद्धति तथा संविधानको मर्म र पक्षमा छौँ । त्यसप्रति प्रतिवद्ध पनि छौँ । गलत नजीरको विरुद्धमा हामी छौँ ।’

मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने  प्रायोजनका लागि प्रदेशसभा बैठक समेत  बोलाएको छ ।