कैलालीको एक सुधार केन्द्रमा युवक मृत्यु प्रकरणः सञ्चालकसहित १७ जना नियन्त्रणमा
2024/05/09, 12:33
 
ss

कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो ।गयराती पुनर्स्थापना केन्द्रमा बस्दै आएका घोडाघोडी नगरपालिका वडानम्बर २ साँडेपानीका धनराज शाहीको २५ वर्षीय छोरा सुनिल शाहीको भाग्नेक्रममा छतबाट खसेर मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीप्रेन्द्रकुमार पालका अनुसार सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।  प्रहरीका अनुसार सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरेको छ। मृतकका परिवारले भने सुधार केन्द्रले २५ दिनयता शाहीसँग भेट्न र कुराकानी पनि गर्न नदिएको हुनाले घटना शंकास्पद रहेको जिकिर गरेका छन्। प्रहरीले मृतक शाहीको शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको जनाएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तर मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् । मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको जिकीर गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाए । शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।