मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गर्ने समय अनिश्चित
2024/05/10, 6:12
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्ने समय अनिश्चित बन्न पुगेको छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत आर्जन गरिसक्नुपर्ने व्यवस्था छ। तर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्नै लाग्दा समेत विश्वासको मत आर्जनका लागि भने अझै मिति तय भएको छैन्। मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा एमालेकै कारण मुख्यमन्त्री सोडारीलाई विश्वासको मत आर्जन गर्न सकस भइरहेको हो।

तत्काल एमालेले विश्वासको मत दिन तयार नहुँदा मुख्यमन्त्री सोडारीले सदनबाट विश्वासको मत लिन र सरकार विस्तार गर्न नसकेका हुन्। विश्वासको मत लिने प्रयोजनका लागि यसअघि आह्वान भएका तीनवटा बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीले यसअघि दुईदुई पटक विश्वासको मत आर्जनका लागि प्रदेश सभा बैठकको मिति र समय नै निर्धारण गरिएको भए पनि बैठक नै नबसेर स्थिगित हुन पुगेको थियो।

मुख्यमन्त्रीले विश्वासको मत लिने अर्को मिति तय नभएपछि प्रदेश सभा बैठक अहिले अनिश्चित बनेको छ। विश्वासको मत लिने कार्य धकेलिएसँगै सरकार विस्तारमा पनि ढिलाइ भएको छ। माओवादी संसदीय दलका उपनेता अक्कल रावलले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे गठबन्धनमा अनौपचारिक छलफल भइरहे पनि मिति भने तय नभएको बताए।

मुख्यमन्त्रीले छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको, बझाङको उपनिर्वाचनबाट निर्वाचित सदस्यले शपथ नलिएको र केन्द्रमा पार्टी नेतृत्वसँग छलफल नभएको भन्दै एमालेले मत दिन आनाकानी गरेको हो। एमाले अहिले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन केही दिन कुर्ने पक्षमा छ। गठबन्धनबिच न्यूनतम साझा कार्यक्रम र सत्ता सञ्चालनमा सहमति हुन बाँकी नै छ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति र एकजना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। आगामी जेठ ५ गतेसम्म मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। विश्वासको मतका कारण मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता समेत दिन सकेका छैनन्। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने एमाले, माओवादीको तयारी छ। सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुईजना मन्त्री छन्।