समानुपातिक व्यवस्था खारेज गर्नुपर्छः सभामुख भण्डारी
2024/05/11, 1:30
 
ss

सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले समानुपातिक व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । नेपाल युवा परिषदद्धारा आयोजित प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै सभामुख भण्डारीले देशमा राजनैतिक अस्थिरताको जड समानुपातिक व्यवस्था भएको बताए ।

समानुपातिक व्यवस्थाका कारण संघ र प्रदेशमा कुनै एउटा पार्टीले बहुमत जुटाउन सक्ने अवस्था छैन, सभामुख भण्डारीले भने, त्यही कारण संघ र प्रदेशका सरकारहरु अस्थिर भए । उनले सरकारहरु अस्थिर भएका कारण जनतामा निराशा छाएको र युवाहरु पलायन हुने क्रम तिब्र भएको बताए ।

सभामुख भण्डारीले नेपाल युवा परिषदद्धारा आयोजित प्रदेश सभा सम्मेलनको सफलताको कामना गर्दै युवाहरुलाई देश निर्माण र सकारात्मक बाटोमा लाग्न प्रेरित गर्ने यस्ता सम्मेलनहरु प्रभावकारी हुने बताए । नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाले तीन दिनसम्म चल्ने सम्मेलनमा सुदूर पश्चिमका युवाहरुका समस्याका विषयमा छलफल गरिने र छलफलका सुझाव र निष्कर्षको प्रतिबेदन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताए ।

बिभिन्न विषयगत बिज्ञहरुले सम्बन्धित विषयमाहरुमा कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा केही महत्वपूर्ण बिषयहरुमा प्यानल छलफल गरी अन्तिममा “प्रादेशिक कार्ययोजना” निर्माण गरी प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोग, सामाजिक विकास मन्त्रालय र केही स्थानीय तहहरुलाई बुझाउने अध्यक्ष बानियाले बताए ।

परिषदका अध्यक्ष बानियाले सम्मेलनका सुदूरपश्चिमको भेष, भुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । उनले कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा ओगट्ने युवाहरु राज्यबाट उपेक्षित भएको बताए । नेपाल युवा परिषदकी सुदूर पश्चिम संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा शुरु भएको सम्मेलनमा सुदूर पश्चिमका नौ वटा जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।

उद्यमी युवा समृद्ध देश स् दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेश नेपाल युवा परिषदको आयोजनामा बैशाख २७ गते धनगढीमा शुरु भएको  “प्रदेश युवा सम्मेलन २०२४ स् सुदुरपश्चिम प्रदेश” मा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला करीव २०५ जना युवाहरुको सहभागीता रहेको छ । सम्मेलन शनिवार समापन हुनेछ । सम्मेलनमा सहभागी युवाहरुले  रैथाने खानेकुराहरु, कलासंस्कृति झल्कने भेषभुषाहरु र रैथाने बिउबिजन लिएर आएका छन् ।