कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित नयाँ बाटो सुधार केन्द्रमा आश्रित २५ वर्षीय सुनील शाहीको कुटपिटबाट हत्या भएको खुलेको छ। सुधार केन्द्रमा बैशाख २५ गते मृत भेटिएका शाहीको आश्रितहरूको कुटपिटबाट मृत्यु भएको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राती भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भीत्र लगेर, सुधारगृहमा रहेका ४/५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको छ।
सुधारकेन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए । सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन । उनले आफु सुधारकेन्द्रमा नबस्ने र घर जाने भन्दै भाग्न खोजेका थिए । सुधारकेन्द्रको गेट बन्द गरिएकाले सुनील सुधारकेन्द्रको पर्खाल ९बाउन्ड्री वाल० तिर लागे । सुनील भाग्न खोजिरहेको कुरा सुधारकेन्द्रका कर्मचारी र त्यहाँ सुधारका लागि राखिएका युवाहरुले थाहा पाएपछि उनलाई पर्खालबाट तानेर परिषरभीत्र ल्याउन खोजेको स्रोत भनाई छ।
सुनीललाई तान्नेक्रममा पर्खालमा रहेको फलामको रडले उनको अण्डकोषमा गहिरो चोट लाग्यो । उनी कराउदै थिए, तर समात्न गएकाहरुले उनको अण्डकोषको चोटप्रति खासै वास्ता गरेनन । पर्खालबाट तानेर उनलाई सुधारकेन्द्रको कोठामा पुगाईएको थियो । उनलाई ४र५ जनाले कोठामै बेस्सरी कुटे । उनको छाती, घाँटी र पिठ्यु सहित गोप्यअंगहरुमा पनि घाउ देखिएका छन । उनको शवमा देखिएका घाउ भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल बनेका छन।
सार्वजनिक भएका तस्बिरहरु हेर्दा उनको मलद्वारमा पनि गहिरो चोट देखिन्छ।‘ सबैजना जना लागुऔषधका प्रयोगकर्ता थिए। उनीहरु आफैमा ‘एग्रेसीव’ ९रिसालु० हुन्छन। कसले कता हाने, कसले कता, उनी मध्यरातमा गम्भिर घाईते अवस्थामा पुगेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका एकजना प्रहरी अधिकृतले बताए। त्यसपछि सुनीललाई उनले सुत्ने कोठामा छोडियो । सहन नसक्ने पिडामा छटपटि रहेका सुनीलको राती २ बजे मृत्यु भएको बताइएको छ। ज्यान गुमाईसकेका सुनीललाई मरिसकेपछि छतबाट हामफालेको भन्दै घोडाघोडी अस्पताल पुगाईएको थियो। अस्पताल पुगेका बल खत्री सबैलाई छतबाट खसेको भनेर गलत बयान गर्न सिकाइएको थियो । ईप्रका सुखडका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले घटनाको गहन रुपमा अनुसन्धान भईरहेको बताए।
सुनीलको कुटपिट भए नभएको प्रमाणित गर्न पोष्टमार्टम रिपोर्ट नआएको र आईतबारसम्म रिपोर्ट आउने प्रहरीले जनाएको छ। कुटपिट गरी हत्या गरेको भन्दै मृतकका आफन्तले पुनर्स्थापना केन्द्रका अध्यक्ष होम तामाङ, सञ्चालक बल खत्री र रोशन ऐरसहित १७ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पुनर्स्थापना केन्द्रमा बस्ने घोडाघोडी नगरपालिकाका विपुल सापकोटा, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नवीन रावल, नवराज चौधरी, कृष्ण तिमल्सिना, सुमन भट्ट, आकाश अधिकारी र रोशन पनाडीविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुधार केन्द्रमै बस्ने गौरीगंगा नगरपालिका दिनेश मन्नी तथा सुधार केन्द्रमा साथीलाई भेट्न गएका मुकेश सुनारका नाममा पनि मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। सुनीलका आफन्तले दिएको किटानीका आधारमा प्रहरीले सञ्चालक रोसन ऐर र बल खत्री, अध्यक्ष होम तामाङ सहितका १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ। सञ्चालक ऐर शुक्रबार मात्रै पक्राउ परेका हुन । मृतक शाहीलाई उनका आफन्तले गत पुसमा सुधार केन्द्रमा भर्ना गरेका थिए । उनीहरु सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।