मेचीबाट सुरु भएको काग्रेंसको ‘युवा संकल्प यात्रा’ महेन्द्रनगर पुगेर सम्पन्न
2024/11/20, 1:10
 
dd

पूर्वी झापाको मेचीनगरबाट सुरु भएको ‘युवा संकल्प यात्रा’ पश्चिमको कञ्चनपुरमास्थित महेन्द्रनगरमा पुगेर समापन भएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेसका युवा नेताहरूले आयोजना गरेको उक्त ‘युवा संकल्प यात्रा’ मंगलबार सम्पन्न भएको हो । पार्टी युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा भएको अभियान आज धनगढी पुगेर सम्पन्न भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए । यात्रामा नेताहरू रञ्जित कर्ण, प्रेमिका राना मगरलगायतको अगुवाइ रहेको थियो ।


कञ्चनपुरमा कांग्रेस जिल्ला सभापति पदम बोगटीको अध्यक्षमा मंगलबार युवा संकल्प यात्रा समापन भएको थियो । सभापति बोगटीले संकल्प यात्राले युवामा भरोसा, उत्साह र जागरण ल्याएको बताएका थिए । कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर संकल्प यात्रा सुरु भएको थियो । ‘झापाको मेचीनगरबाट सुरु गरेर आज महेन्द्र नगरमा आएर अभियान सम्पन्न गरेका हौँ‚’ ठकुरीले रातोपाटीसँग भने । कार्तिक २३ बाट झापाको मेचिनगरबाट अभियानको सुरूवात भएको हो । अभियानका क्रममा किसान‚ उद्यमी‚ खेलाडी लगायत विभिन्न पेसा व्यवसायसँग सम्बन्धित मानिसहरूसँग संवाद गरिएको ठकुरीले बताए । अभियानको नेतृत्व गरिरहेका नेता भुपेन्द्र शाहीले पनि युवा संकल्प यात्राका विभिन्न सुझाव सन्देशहरु सरोकावाला निकायमा पुर्याउने बताए । प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने उनले जानकारी दिए ।


अभियान अन्तर्गत झापाको दमक, मोरङको उर्लाबारी, सुनसरीको इटहरी‚ सप्तरीको राजबिराजमा कार्यक्रम गरिएको उनले बताए । यस्तै‚ सिराहको लाहान‚धनुषाको जनकपुर‚सर्लाहीको लालवन्दी, रौतहटको चपुर‚ बाराको निजगढमा कार्यक्रम भएका छन् । नेता शाहीका अनुसार पर्साको वीरगञ्ज‚ मकवानपुरको हेटौडा, चितवनको भरतपुर, नवलपुरको गैडाकोट र कावासोती, रुपन्देही बुटवल, दाङ्को लमही, नारायणपुर र तुल्सिपुरमा कार्यक्रम गरिएको छ । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर , बाँकेको कोहलपुर‚ कैलालीको लम्की र धनगढी तथा कञ्चनपुरको महेन्द्रनगरमा कार्यक्रम भएका छन् ।