कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग
2024/11/27, 1:35
 
kalopatre

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् । 

निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन् । सडक कालोपत्र अगाडि बढाउनुपर्यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्यो,स्थानीय दिनेश कुँवरले भने, सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ ।

धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए। उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरेका छन् । विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेका स्थानीय नरबहादुर ऐरले बताए ।

सडक कालोपत्र अगाडि बढाउन पूर्वाधार विकास कार्यालय र शुक्लाफाँटा नगरपालिकासम्म आग्रह गर्दै आए पनि सुनवाइ नभएको उनले बताए । धुलोले समस्या सृजना गरी बिरामी पर्न थाले पनि जनप्रतिनिधि हालचाल बुझ्न नआएको स्थानीय बासिन्दाले गुनासो पोखे। सडकको धुलोको जबसम्म व्यवस्थापन हुँदैन, तबसम्म सडकमा सवारीसाधन गुडन नदिने स्थानीय बासिन्दाले बताएका छन् ।