सुदुरपश्चिममा बाढी पहिरोको वितण्डाः जोखिम रोक्न प्रदेश सरकारको झिनो तयारी
2020/07/10, 8:03
 
pahiro

पहाडमा पहिरो र तराईमा डुबान वर्षै पिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढी पहिरो र डुबानका कारण नेपालमा बर्सेनी सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ । चालु आवमा २०७६÷७७ मा मात्र ४० भन्दा बढी स्थानमा पहिरो गएको छ । ती पहिरोमा करिब सय जनाको ज्यान जानुका साथै दर्जनौं बेपत्ता भएको प्रहरी रेकर्डमा देखिन्छ ।

सुदुरपश्चिमको असारमा बझाङ लगायत जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ । तर क्षति बेहोरेपछि मात्रै व्यवस्थापनमा जुट्ने सरकारी प्रवृत्तिका कारण बाढी पहिरोबाट हुने जनधनको क्षति ठूलो छ । बर्सेनी भइरहने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैं चुक्ने सरकारले पीडितको घाउमा मलम समेत लगाउन सकेको छैन ।  बाढी पहिरोको मौसम सुरु भएपछि मात्रै त्यसको व्यवस्थापनबारे सोच्ने सरकारले आपत्को दीर्घकालीन उपाय र योजना अवलम्बन गर्न सकेको छैन । 

सुदूरपश्चिममा विपदबाट वर्षेनी जनधनको ठूलो क्षतिः १० बर्षमा ९९८ जनाको मृत्यु, १७१ वेपत्ता

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक विपदका घटनामा वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ । प्रदेशमा वर्षेनी विपदबाट ठूलो संख्यामा जनधनको क्षती भइरहे पनि सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिरहेको छैन ।  सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश विपद कार्ययोजना अनुसार प्रदेशमा सन् २०१० देखि २०१९ सम्म प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका तीन हजार एक सय १५ वटा घटना भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा भुकम्प, बाढी तथा पहिरो, डुवान, चट्याङ्ग, खडेरी, हिमपात, असिनाबृष्टि, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, हुरीबतास, शीतलहर, तातो हावा (लु), वन डढेलो आदि प्राकृतिक तथा सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु, जंगली जनावर आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्पदंश, जनावर आक्रमण, खानी हवाई, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विपाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनास लगायतका गैरप्राकृतिक प्रकोपका घटनाहरूमा वर्षेनी बृद्धि भइरहेको छ । प्रदेश सरकारे विपद कार्ययोजना अनुसार पछिल्लो दश वर्षको अवधिमा विपदका विभिन्न घटनाबाट नौ सय ९८ जनाको मृत्यु भइसकेको छ । ती घटनामा एक सय ७१ जना वेपत्ता भएका छन । 

त्यस्तै, सो अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपदका घटनामा ५० हजार नौ सय ६८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन । यस अवधिमा सात सय ८५ मानिस घाइते भएका छन भने एक हजार तीन सय ७९ घरहरू पूर्ण र छ हजार नौ सय ४१ घरहरू आंशिक रुपमा क्षतिग्रस्त भएका छन । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा एक सय २३ वटा बाढीका घटनामा ५६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जनाइएको छ । त्यस्तै, एक सय ७१ चट्याङका घटनामा ६६ जनाको मृत्यु भएको जनाइएको छ । यो अवधिमा सुदुरपश्चिम प्रदेशमा पहिरोका एक सय ४४ घटना भएका छन् भने हावाहुरीका एक सय २१ घटना भएका छन । त्यस्तै, महामारीका ४९ वटा घटना घटेका तथा यो अवधिमा भुकम्पको झटका १५ वटा रहेको छ । 

विपदबाट वर्षेनी एक सय बढिको मृत्यु
सरकारले तयार गरेको कार्ययोजना अनुसार सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना बाहेक अन्य विपदमा वर्षेनी एक सय बढिको मृत्यु हुने गरेको छ । त्यस्तै, सडक दुर्घटनामा वर्षेनी सरदर एक सय १५ जनाको मृत्यु हुने गरेको छ । विपदबाट वार्षिक सरदर पाच हजार एक सय घरपरिवारहरू प्रभावित हुने गरेका छन । भने १७ जना वेपत्ता हुने गरेको कार्ययोजनामा उल्लेख छ । प्रदेशमा वर्षेनी सरदर ७९ व्यक्तिहरू विपदबाट घाइते हुने गरेका छन भने सडक दुर्घटनाबाट दुई सय १० जना घाइते हुने गरेका छन् । 

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा विपदबाट वर्षेनी सरदर एक सय ४० घर पूर्ण रुपमा र सात सय घर आंशिक रुपमा क्षति हुने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट हुने क्षतिलाई न्यूनिकरण गर्न प्राकृतिक विपदको वस्तुगत मापन गरि सूचकहरूको पहिचानका आधार रेखा, अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन परिमाणात्मक गन्तव्यहरू निर्धारण गरेको छ । प्रदेश सरकारले सन २०३० सम्ममा विपदका घटनाबाट हुने मृत्युदर वार्षिक ५०, सवारी दुर्घटना मृत्युदर ८०, प्रभावित हुने घर परिवार दुई हजार पाच सय, वेपत्ता हुने व्यक्तिहरू सात, विपदबाट घाइते हुने ४०, सडक दुर्घटनाबाट घाइते हुने एक सय २० पुर्याउने दिर्घकालिन सोच बनाएको छ ।

मन्त्रालयले विपदका कारणले हुने आर्थिक क्षेत्रलाई उल्लेख्य मात्रामा कम गर्ने, प्रदेशका महत्वपूर्ण पूर्वाधार र आधारभुत सेवाहरूमा विपदले पुर्याउने क्षति र अवरोध उल्लेख्य रुपले कम गर्ने र उत्थानशीलता अभिवृद्धि गर्ने, स्थानीय तहहरूमा विपद जोखिम न्यूनिकरण, ऐन, योजना तथा मापदण्डहरू तयार गर्ने, विपद र जलवायु परिवर्तनजन्य जोखिमको न्यूनिकरण, व्यवस्थापन र अनुकुलनका विषयहरूलाई अन्य विषयगत क्षेत्रका योजना र कार्यक्रममा एकिकृत गर्दै लैजाने, बहुप्रकोप पुर्वसूचना प्रणाली र विपद जोखिम सूचना आंकलनको उपलब्धता र पहुँचमा उल्लेख्य वृद्धि गर्ने गन्तव्य निर्धारण गरेको छ ।
प्रदेश, स्थानीय तह तथा समुदाय स्तरमा खुला स्थानको पहिचान गरी पूर्वाधार विकास गरी संरक्षण गर्नुका साथै पहाडी जिल्लाका दुर्गम स्थानमा हेलिप्याडको व्यवस्था गर्ने, विपद पश्चातका पुनर्लाभ, पुनस्र्थापना र पुनर्निमाणका चरणमा थप जोखिमको अवस्था सृजना हुन नदिन र प्रभावकारी विपद जोखिम न्यूनिकरण गर्न ‘अझै राम्रो र बलियो बनाऔं’ भन्ने अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै ३० बु“दामा रणनीति तयार गरेको छ ।

सुदूरपश्चिममा पहिरोको जोखिम र विपद्को तयारी  
बर्खा लागेपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ । पहिरोका कारण सुदूरपश्चिममा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने लाखौंको धनमाल क्षति भएको छ । अहिलेसम्म बझाङमा पहिरोका कारण आठ जनाको मृत्यु भएको छ । केदारस्यु गाउँपालिका–८ मल्लेसीमा एक साताअघि खसेको पहिरोमा परेर सात जना र जयपृथ्वी नगरपालिका–७ सुवेडामा पहिरोकै कारण एक बालकको मृत्यु भएको थियो ।

पहिरोले सुवेडामा दुई घर, मष्टा गाउँपालिका–५ द्वारीमा दुई घर, मष्टा–१ मलारीमा सात घर, मेलबिसौना गाउँपालिका–१ टीकामा एक घर, खप्तड छान्ना गाउँपालिका–३ मा दुई घर, बुङल नगरपालिका–३ मा तीन घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । डोटीमा गत गत आइतबार मात्रै पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ ।  

विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए । विपद् व्यवस्थापनका लागि भन्दै प्रदेश सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लामा खोज तथा उद्धार सामग्री खरिदका लागि ८४ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमबाट सुदूरपश्चिमका नौ वटै जिल्ला प्रशासन कार्यालयले सामग्री खरिद गरिसकेको उनले बताए ।