बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गत शुक्रबार राति गएको पहिरोमा पुरिएका एक जना अझै वेपत्ता रहेका छन् । पहिरोमा पुरिएका ६ जनाको शव भेटिए पनि एक जना अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताए ।
उनका अनुसार अनुसार वेपत्ता २० वर्षीय गिरिजा जेठारा अझै वेपत्ता छन । ‘वेपत्ताको सात दिनसम्म खोजी गरेका थियौँ,’ उनले भने, ‘हिजो मात्रै हाम्रो टोली त फर्किएको छ। तर पनि बेला–बेला खोजी जारी हुनेछ ।’ ‘घर माथिबाट पानी आउन थालेपछि पानी आउने बाटो बन्द गर्न गिरिजा र म सँगै गएका थियौं । गाउँ जान थालेको पानीलाई यताउता सोझ्याउने काम गरिरहेका थियौ’, स्थानीय राजेश जेठाराले भने ‘अचानक भुकम्प आएजस्तो भयो र हल्लिएर जमिन नै उठेपछि मैले नजिकैको एउटा बेरुको रुखतर्फ हाम फालेर त्यही रुखमा झुण्डिएर ज्यान बचाएँ तर गिरिजालाई भने पहिरोले कहाँ लग्यो पत्तै भएन ।’
पहिरोमा परेर वेपत्ता भएका एकै परिवारका तीन सहित ६ जनाको शव शनिवार निकालिएको थियो । पहिरोमा पुरिएर ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बर्षीया बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको मृत्यु भएको थियो । अघिल्लो शुक्रबार राति अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो ।