भत्किँदै सरकारी भवन, भाडामा वडा कार्यालय
2020/05/13, 8:04
 
woda

डोटीको केआइसिंह गाउँपालिकाका अधिकांश वडा कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन्। साविकका गाविस भनवलाई वडा कार्यालय बनाइए पनि जनप्रतिनिधिले आफ्ना मान्छे रिझाउनका लागि नयाँ घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएको पाइएको छ। सरकारी भवन हुँदाहुँदै भाडाका घरबाट कार्यालय सञ्चालन नगर्न स्थानीयवासीले पटक–पटक आग्रह गर्दा पनि त्यसको कुनै वास्ता नगरी मनपरी ढङ्गले वडा कार्यालयले कामकाज गर्दै आएको भन्दै स्थानीयवासी आक्रोसित भएका छन्। उक्त गाउँपालिकाको वडा नम्बर ३ मा चारकोठे पक्की सरकारी भवन छ। साविकको वासुदेवी गाविस कार्यालय सोही भवनबाट सञ्चालन हुँदै आएको थियो। तर, अहिले वडा कार्यालय भने भाडाको घरमा सञ्चालन भइरहेको छ। उक्त वडाले मासिक रु आठ हजार भाडा तिर्ने गरी स्थानीय काँग्रेस कार्यकर्ता कालुराम ओझाको घर भाडामा लिएको बताइएको छ। 


चार कोठे उक्त सरकारी भवनको एक कोठामा वडा सचिवको निवास बनाइएको छ भने अन्य कोठामा ताल्चा झुण्ड्याइएको छ। स्थानीय तहको चुनावलगत्तै वडा नम्बर ३ का अध्यक्ष रत्न कुँवरले वडा कार्यालय छाडेर भाडामा घर खोजेर सञ्चालन गर्न लगाएको स्थानीय दिनेश कुँवरले आरोप लगाए। उनले भने, “वडा कार्यालय सञ्चालनका लागि सरकारी भवन छँदैछ तर वडाध्यक्षले आफ्ना कार्यकर्ताको मन जित्नका लागि घर भाडामा लिएका हुन्।” वडा कार्यालय अपायक ठाउँमा भएकाले सबैलाई पायकपर्ने ठाउँमा वडा सम्पर्क कार्यालयका लागि घर भाडामा लिएको वडाध्यक्ष कुँवरले बताए। उनले भने, “स्थानीय गोदावरी सहकारी संस्थाका लागि घर भाडामा लिनुपर्ने नै थियो, त्यसैको एक कोठा खाली भएकाले त्यहीबाट कामकाज चलाउँदै आएका छौँ, कसैको चित्त दुःखेको हो भने अर्को आर्थिक वर्षदेखि सरकारी भवनमै सरौला।” तर, सहकारी संस्थाका लागि वडाको बजेटबाट भाडा तिर्न नपाइने प्रावधान छ।


केआइसिंह गाउँपालिकाकै वडा नम्बर ६ मा पनि त्यस्तै अवस्था छ। सरकारी लगानीमा जस्तापाताले छाएको भवन छ, पहिले वडा कार्यालय त्यसै भवनबाट सञ्चालन हुन्थ्यो। दुई वर्ष अगाडि आएको हावाहुरीले छानो उडाएपछि एक स्थानीय नेताको घर भाडामा लिएर कामकाज गरिँदै आएको स्थानीय जगत बलायरले बताए। उनले भने, “वडा कार्यालयको भवन मर्मत गरेर काम सञ्चालन गर्नुपर्नेमा वडाध्यक्षले आफुखुशी आफन्त खुशी पार्न घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन्।” उचित मर्मतसम्भार नगरिँदा वडा कार्यालयको सरकारी भवन दिनानुदिन जीर्ण बन्दै गइरहेकोे छ तर वडा कार्यालयले भने मासिक रु १० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको स्थानीयवासी बताउँछन्।


सो वडाका वडाध्यक्ष दीप वलायरले हुरीले छानो उडाएपछि बस्ने अवस्था नभएका कारण भाडाको घरबाट काम काज चलाइरहेको बताए। उनले भने, “एककोठे भवन भएकाले साँघुरो पनि थियो, त्यसैमा हुरीले छानो उडाएपछि समस्या भयो र अर्को आर्थिक वर्षमा जीर्ण भवनको मर्मत गरेर आफ्नै भवनमा सर्नेर्छौ।” एककोठे भवन भए पनि आवश्यक मर्मत गरेर सकिने जति काम उक्त भवनबाटै गर्नुपर्ने युवासंघ डोटीका संयोजकसमेत रहनुभएका स्थानीय गोविन्द खड्काले बताए। उनले भने, “भत्किएको भवन मर्मत गरेर वडा कार्यालय सञ्चालन गर्न पटक–पटक अध्यक्षसँग आग्रह ग¥यौँ, तर उनले टेरपुच्छर लगाएको छैन, आफूखुशी भाडा तिरेर काम गर्दै आएका छन्।”


सरकारी भवन बेवारिसे बनाएर भाडामा कार्यालय सञ्चालन गर्नु गलत भएको स्थानीय तह अनुगमन तथा समन्वयको समेत जिम्मेवारी पाएको जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले बताए। उनले भने, “सरकारी भवन हुँदाहुँदै कार्यकर्ताको घर भाडामा लिनु हुँदैनथ्यो, प्राप्त अख्तियारीको दुरुपयोग गर्नु पदीय मर्यादाविपरीत हुन्छ, आवश्यक कारवाहीका लागि गाउँपालिकालाई पत्र लेख्ने छौँ।” वडाको विकासका लागि आएको रकमबाट घर भाडा तिर्नुपरेकाले यथाशीघ्र सरकारी भवनमा कार्यालय सार्न त्यहाँका वडावासीको माग छ। मनपरी गर्ने वडाका प्रतिनिधिलाई आवश्यक कानूनी कारवाही हुनुपर्ने बताउँदै आएका छन्। रासस