सुदूरपश्चिममा घट्दै कोरोनाको दैनिक संक्रमण दर, रित्तिदैं क्वारेन्टिन
2020/07/11, 6:08
 
quarentine

सुदूरपश्चिममा कोरोनाको दैनिक संक्रमण दर घट्दै गएको छ भने  क्वारेन्टिन रित्तिदैं गएको छ । पछिल्ला केही दिनदेखि सुदूरपश्चिममा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो ६ दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर पनि घटेको छ भने संक्रमितको संख्या पनि कम छ ।

शनिवार प्रदेशका तीन जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । काठमाडौँमा भएको परीक्षणमा शनिवार भने एक जनामा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार असार २२ गते सुदूरपश्चिममा १३ जना, २३ गते एक सय ११ जना, २४ गते ६९ जना, २५ गते ३५ जना र २६ गते ५ जनामा कोरोना पुष्टि भएको छ । असारको दोस्रो सातामा सुदूरपश्चिममा सबैभन्दा बढी कोरोना संक्रमति भेटिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो । 

यस्तै शनिबार तीन जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय १४ पुगेको छ । देशभरी सबैभन्दा बढी एक्टिभ कोरोना संक्रमित पनि सुदूरपश्चिममै रहेका छन् । संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ । यता भारतबाट फर्किने क्रम घटेसंगै सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका क्वारेन्टिन पनि रित्तिन थालेका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा चार हजार ८ सय ३४ जना मात्रै क्वारेन्टिनमा रहेका छन् । जेठ महिनायता मात्रै सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनबाट झण्डै एक लाख नागरिकलाई घर पठाईएको सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयको दावी छ । 

अहिले सबैभन्दा बढी कञ्चनपुरमा दुई सय ४४ महिला र ८ सय ७५ पुरुष गरी एक हजार एक सय १९ जना क्वारेन्टिनमा रहेका छन । यस्तै कैलालीमा एक हजार ५१ जना, बझाङमा पाँच सय ३८, डोटीमा पाँच सय ३७, बैतडीमा पाँच सय १९ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अछाममा तीन सय ४९, दार्चुलामा तीन सय सात, डडेल्धुरामा दुई सय ५१ र बाजुरामा एक सय ६३ जनालाई क्वारेन्टिनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा ६२ हजार बढी अटाउने एक हजार पाँच सय ८० वटा क्वारेन्टिन बनाईएको छ । क्वारेन्टिन खाली भएपछि अहिले अधिकांश क्वारेन्टिनमा संक्रमितलाई राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टिनमा राखिएको जानकारी दिए । उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टिनलाई नै अहिले आइसोलेसनमा परिणत गरिएको हो ।