‘ए, रहरी (रमाइलो) रैछौ, ए छाति फर्काइदे, जुँगा समाइदे, खुट्टा लप्काइदे ।’ माथिल्लो गरामा उभिएका घुइरे दमाई काँधमा भिरेको ढोलक बजाउँदै छन् । सँगसँगै उनी जोस्याउँदै छन् तल्लो गरामा रोपाइँ गर्न तयार भएका युवाहरुलाई । उनी रोपाइँ गर्न आएका युवाहरुलाई ढोलकको तालसँगै यस्तायस्तै कुरा गाउँदै हौस्याउँथे । युवाहरु पनि के कम, फाउरो समातेर ढोलककै तालमा नाच्दै गरा खनि भ्याए ।
यस्तै जोस्सिने युवाहरु मध्ये एक हुन् अमरबहादुर बलायर । डोटी, शिखर नगरपालिका–११, सिमखोलीका २६ वर्षीय अमर अढाइ वर्षअघि रोजगारीको सिलसिलामा भारतको चेन्नई पुगेकाथिए । उनको रोजगार राम्रै चलेको थियो । तर कोरोनाको समस्याले उनी बिचमै घर आउन बाध्य भए । दशैंसम्म चेन्नईमै बसेर थोरै पैसा जम्मा गरी गाउँ फर्केर सानोतिनो व्यवसाय गर्ने सोच बनाएका थिए अमरले । कोरोना महामारीका कारण उनी आफ्नो सपना अधुरै छोडेर घर फर्किए । अचेल उनी रोपाइँ गरामा ढोलकको तालमा व्यस्त छन् ।
यसअघि पनि रोजगारीको लागि भारत आउ–जाउ गरेका अमर धेरै वर्षपछि आफ्ना साथीसंगीहरुसँग रोपाइँमा रमाएका छन् । उनी भन्छन्, ‘धेरैपछि यसरी रोपाइँको तालमा नाच्न पाउँदा अर्कै आनन्द आयो ।’ उनी त्यो आनन्दसँगै चिन्तित पनि छन्, अब के गर्ने हो भन्ने विषयमा । तर जब उनी रोपाइँका लागि खेतमा जान्छन्, तब ढोलकको तालसँगै उत्साहित हुन्छन् । अमरसँगै ढोलकको तालमा नाच्दै छन् भारतबाटै फर्किएका पुर्ण, दिनेश र दिलबहादुर पनि । उनीहरु पनि लामो समयपछि गाउँले दाजुभाइहरुसँग रोपाइँमा रमाउन पाउँदा खुशी छन् ।
भारतबाट आएकाहरु मात्रै होइन, कामको सिलसिलामा देशकै अन्य स्थानमा रहेकाहरु पनि अचेल रोपाइँमा व्यस्त देखिन्छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, काठमाडौंमा स्नातकोत्तर तहमा अध्ययनरत दीपक बलायर पनि अचेल आफ्नै गाउँमा रोपाइँमा मस्त छन् । पढाइ पूरा गरेर जागिरको खोजी गर्ने सोचमा रहेका उनी तीन महिना पूरा घरमा बस्दा वाक्कदिक्क भएका थिए । उनलाई रोपाइँको तालले खुशी दिएको छ ।
‘विगतका वर्षहरुमा रोपाइँमा काम गर्ने मान्छे पाउन समेत समस्या हुन्थ्यो, यसपालि त सबै घरै हुँदा सजिलै रोपाइँ भइरहेको छ,’ दीपक भन्छन्, ‘लकडाउनले के गर्ने, कसो गर्ने भन्ने चिन्तामा रहेकाहरुलाई रोपाइँले रौनक ल्याएको छ ।’ विगतका वर्षहरुभन्दा यस वर्षको रोपाइँमा थप उत्साह देख्छन् ढोलक बादक घुइरे दमाई । ‘सबै मान्छे देश (भारत) मा हुन्थे, रोपाइँमा त दुई÷तीन जना मात्रै बाउसे लाग्नु पर्ने,’ घुइरे भन्छन्, ‘रोपाइँ गरेजस्तो कुनै उत्साह नै नहुने, यस वर्ष खुशी लाग्यो ।’ उनी गाउँ टोलका सबै मान्छे घर आएकोमा पनि खुशी छन् ।