चालु आर्थिक बर्षको बजेट सिद्ध्याउन असारे विकासको चटारोः दैनिक साढे १४ करोड खर्च हुदैं
2020/07/12, 3:24
 
bikash

कैलालीका विकासे कार्यालयहरु आर्थिक वर्ष सकिन चार दिन बाँकी रहेका बेला बजेट सिद्ध्याउन असारे विकासको चटारो बढेको छ । चालु आर्थिक बर्षको बजेट खर्च गर्नका लागि विकास अड्डाहरुलाई विकास बजेत खर्च गर्न भ्याई नभ्याई छ । वर्षभरी प्रायः फुर्सदमै बसेका विकासे कार्यालयहरुलाई अहिले बजेट खर्च गर्नलाई धौ धौ परिरहेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको तथ्याङक अनुसार कैलालीमा अहिले दैनिक १४ करोड ४० लाख बढी बजेट खर्च भईरहेको छ । जिल्लाका विकासे कार्यालयले बितेको आठ दिनमा एक अर्ब १२ बजेट बढी रकम खर्च गरेका छन । जिल्लामा असार १९ गतेसम्म चालु र पुँजीगत समेत गरी २८ अर्ब २२ करोड ३७ लाख खर्च गरिएकोमा आठ दिनको अवधिमा एक अर्ब १२ करोड ७४ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आईतबार दिउँसो सम्म चालु र पुँजीगत समेत गरी २९ अर्ब ३५ करोड खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले जानकारी दिए । जुन कुल विनियोजित बजेट ३५ अर्ब ५६ करोडको ८१ दशमलव ७३ प्रतिशत रहेको छ ।

यस्तै पुँजीगततर्फ मात्र आईतबार दिउँसोसम्म विनियोजित ९ अर्ब २३ करोडमध्ये चार अर्ब ४१ करोड अर्थात ४७ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ २६ अर्ब ३३ करोड वार्षिक बजेट रहेकोमा आईतबारसम्म २४ अर्ब ९४ करोड अर्थात ९३ दशमलव ४७ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले सोमबारसम्म मात्र बजेट निकासा दिने जनाएको छ । प्रमुख कोष नियन्त्रक जोशीले बिल भरपाई सहित भुक्तानीका लागि पुग्ने कार्यालयलाई सोमबारसम्म मात्र निकासा दिईने बताए । ३० र ३१ गते भने लेखा नियन्त्रण कार्यालयकै आन्तरिक काम हुने भएकाले भुक्तानीका लागि आउने कार्यालयलाई निकास नदिईने उनले बताए ।