कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको ७० प्रतिशत भौतिक प्रगति, संचालनको प्रारुप टुङ्गिएन 
2020/07/13, 9:50
 
geta

कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको ७० प्रतिशत भौतिक प्रगति भएको छ । लकडाउनका वेला गेटा मेडिकल कलेजको निर्माणलाई तिव्रता दिईएको छ । आर्थिक वर्ष २०७७÷७८ भित्र एक सय ५० शैयाको अस्पताल संञ्चालन गर्ने लक्ष्य सहित भौतिक संरचना निर्माणको कामलाई गति दिईएको हो । सात वटा प्याकेजमा निर्माण भईरहेको मेडिकल कलेजका दुई प्याकेजको निर्माण काम लगभग अन्तिम चरणमा पुगेका बेला ७० प्रतिशत भौतिक प्रगति भएको हो ।

पाँच प्याकेजको निर्माण आगामी मंसीरमा सम्पन्न गर्ने गरी कामलाई तिव्रता दिईएको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए । कलेजको प्रशासनिक तथा कलेज भवनको निर्माण अन्तिम चरणमा पुगेको र थप कलेज, अस्पताल, छात्रवास लगायतका अन्य भवनको निर्माण आगामी मंसीरमा सम्पन्न गर्ने गरी काम भईरहेको कार्यकारी निर्देशक साउँदले जानकारी दिए । 

कोरोना भाईरसको महामारीमा समेत मेडिकल कलेज निर्माणको कामलाई निरन्तरता दिईएको थियो । तर कामदार र निर्माण सामाग्रीको अभावका कारण केही ढिलाई भएको छ । विगतमा तीन हजारभन्दा बढी मजदुरले दैनिक काम गर्दै आएका थिए भने कोरोना प्रभाव पछि दैनिक तीन देखि चार सय मजदुरले काम गर्दै आएका छन । मंसीरमा संरचना निर्माणको काम सम्पन्न भए आउँदो चैत्रदेखि एक सय ५० शैयाको अस्पताल संञ्चालन गर्ने तयारी पनि गरिएको छ । भौतिक संरचना निर्माण कार्यविधीे अनुसार नै आर्थिक वर्ष २०७७÷७८ भित्रै अस्पताल संञ्चालनमा ल्याउनुपर्ने भएका कारण चैतबाट सुरु गर्ने तयारी भईरहेको मेडिकल कलेज पुर्वाधार विकास समितले जनाएको छ ।

3

गेटा मेडिकल कलेज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत निर्माण भईरहेको भएपनि कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो अझै लाग्न सकेको छैन् । मेडिकल कलेजकै रुपमा संञ्चालन गर्ने की स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा संञ्चालन गर्ने विषयको टुङ्गो नलागेको हो । संञ्चालनको प्रक्रिया सम्बन्धमा संघीय मन्त्री परिषद्मा प्रस्ताव पेस गरिएको भएपनि प्रारुपको विषयमा निर्णय हुन नसकेको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए ।

अहिले निर्माणाधीन भौतिक संरचनाको काम मंसीरमा सक्नुपर्ने भएपनि फेरि थप संरचना निर्माण गर्ने तयारी भईरहेको छ । मेडिकल कलेज पुर्वाधार विकास समितका अनुसार आउँदो साउनमा थप संरचना निर्माणका लागि तीन प्याकेजमा काम सुरु गरिनेछ । अब निर्माण सुरु हुने संरचनाको लागि पहिलो चरणको डिजाईनको काम समेत सम्पन्न भएको छ । जसमा कलेज भवन, खानेपानी विस्तार, फर्निचर, कम्पाउण्ड वाल लगायतका अन्य थप संरचना निर्माण गरिने भएको छ ।