कोरोना जितेका रेडक्रसका कर्मचारी भन्छन्– ‘नलुकाएर आत्मबल राखेमा केही पनि हुदैंन’ 
2020/07/13, 9:27
 
corona

धनगढीमा कार्यरत नेपाल रेडक्रस सोसाईटी कैलालीका कर्मचारीले कोरोना जितेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष ईश्वर जोशीले कोरोना जितेका हुन् । उनी रेडक्रस कैलालीका शाखा विकास अधिकृत पदमा कार्यरत रहेका छन् । १५ गते कोरोना पुष्टि भएकोमा धनगढी प्रयोगशालामा सोमबार भएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका छन् । कोरोना भाईरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा उनी खटिएको थिए ।

विभिन्न क्वारेन्टिनमा पनि पुगेका थिए । कोरोना पुष्टि भएपछि आईसोलेसनमा बसेको थिए । रिर्पोट नेगेटिभ आएपछि सोमबार उनी घर फर्किएका छन् । रिर्पोट नेगेटिभ आएपछि घर फर्किने क्रममा खबरकुञ्जसँग कुराकानी गर्दै १४ दिने वसाईएमा कुनै पनि रुघाखोकी, ज्वरोको औषधी समेत नखाएको बताए । उनले आईसोलेसनमा वसेका वेला आफु मात्रै होईन सेती अस्पतालको आईसोलेसनमा वसेका अन्य संक्रमितहरुको पनि हेरचाह गरेको बताए । उनले आफुले अन्य विरामीहरुको ब्लड प्रेसर जाँच गर्ने, योगा अभ्यास गराउने र आत्मबल बलियो बनाउन उत्प्रेरणा पनि दिएको बताए । सात दिन होम क्वारेन्टिनमा बस्नका लागि महेन्द्रनगर गएका जोशीले वाटोमा रहेकै वेला खबर कुञ्जलाई भने– ‘कोरोना भईहाल्यो भनेर तनाव लिने टेन्सन मान्ने गर्नु हुदैंन । नलुकाएर समयमै भनेर त्यसका विरुद्ध लडेमा कुनै समस्या हुदैन । सजिलै कोरोना जितिन्छ । अरुलाई पनि कोरोना जित्न कुनै तनाव नदिन आग्रह गर्दछु ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएकै वेला संक्रमण भएका उनी अझ यस क्षेत्रमा सशक्त भएर लाग्ने बताउँछन् । आफुले कोरोनाको क्षेत्रमा काम गरिरहेको अवस्थामा संक्रमित हुँदा आईपर्ने विभिन्न समस्या र कठिनाईको वारेमा भुक्तभोगी भएकोले यसक्षेत्रमा काम गर्न अझ हौसला थपिएको उनको अनुभव छ । ‘पोजेटिभ भएपछि के कस्ता अप्ठेरा समस्या हुन्छ भन्ने वारेमा स्वयम पोजेटिभ भएर नजिकबाट जान्ने बुझ्न मौका मिल्यो ।’ रेडक्रस कैलालीका शाखा विकास अधिकृत जोशीले भने–अव संक्रमितहरुलाई मोटिभेस्नल टेनिङ दिएर उनीहरुको आत्मबल बढाउने काम पनि लाग्छु । आत्मबल दरिलो बनाउन सकेमा यसले कोरोना जित्न धेरै नै सहज हुने रहेछ ।’ 

उनले कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै संक्रमण मुक्त हुनका लागि समाजको हेर्ने सोचाई समेत फेरिनुपर्ने बताए । उनले कोरोना संक्रमितहरुलाई नियमित अभ्यास योगा गर्न आग्रह गर्दै बलियो विश्वासका साथ अगाडी वढ्नुपर्ने सुझाव दिए ।