लोकमणि पौडेल- सीता जनकपुरकी छोरी भएकीले र राम इन्डियाको लखनउ नजिकै रहेको अयोध्याका बासिन्दा हुन् भन्ने भ्रम भएकाले हामीले रामलाई ज्वाइँ ठान्दै आएको अवस्था छ । तर, यो कुरा सत्य होइन भन्नेतर्फ विभिन्न तर्क र प्रमाणले संकेत गर्दछ ।
पहिलो प्रमाणः– साथमा पुष्पक विमान भएका हुनाले रावण सर्वसुन्दरी सीताको स्वयंवरका वेला श्रीलंकाबाट जनकपुर आउनु अपत्यारिलो होइन तर झण्डै ५ सय किमी टाढा रहेको अयोध्याबाट रथमा चढेर जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरो होइन ।
दोस्रो प्रमाणः– श्रीलंकाबाट रामहरू फर्किसकेपछि धोबीको भनाइलाई लिएर सीतालाई वनबास पठाउँदा लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम नजिकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ । इन्डियाको अयोध्याबाट वाल्मीकि आश्रम पुग्न ऊ वेला २ सय ५० किमीभन्दा लामो बाटो पार गर्नु पथ्र्यो । भनेपछि जाऊ/आऊ गरेर ५ सय किमी बाटो रथको सहायताले एकैदिनमा पूरा गर्नु सम्भव कुरो होइन ।
तेस्रो प्रमाणः– इन्डियाका प्रसिद्ध उपन्यासकार स्वर्गीय कमलेश्वरले सन् २००० मा प्रकाशित गरेको उपन्यास ‘कितने पाकिस्तान’ मा पनि सो अयोध्या रामको जन्मभूमि नभएको पुष्टि गरिएको छ जसलाई नामवर सिंह, अमृता प्रितम, हिमांशु जोशी र विष्णु प्रभाकरजस्ता लेखक साहित्यकारले प्रशंसा गरेका थिए र इन्डियाका सबैजसो पत्रपत्रिकामा त्यसको समीक्षा छापिएको थियो ।
चौथो प्रमाणः– जसरी अहिले केही इन्डियनहरूले इन्डियामा रातारात नक्कली लुम्बिनी बनाएर बुद्ध इन्डियामा जन्मेका हुन् भन्ने कुरा सिद्ध गर्ने प्रपञ्च रचेका छन् त्यसरी नै शतकौँअघि रामायणमा वर्णित अयोध्यालाई उत्तर प्रदेशमा देखाएर त्यसको श्रेयसँगै त्यहाँ भएको बाबरी मस्जिदमाथि हिन्दूहरूले हमला गरून् र अयोध्यालाई हिन्दूहरूको धार्मिक केन्द्र बनाउन सफलता मिलोस् भन्ने अभीष्ट लुकेको हुनसक्छ ।
पाँचौँ प्रमाणः– नेपालको चितवन जिल्लामा रहेको माडी, जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले पनि जानिन्थ्यो, त्यो नै वास्तविक रामजन्म भूमि अयोध्या हुनुपर्छ । केही समय पहिलेसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो । अहिले टाँडी नगरपालिका भएपछि वडा ७ र ८ मा परेको छ । सो ठाउँबाट जनकपुर करिब १ सय ८० किमी पूर्वमा पर्छ भने वाल्मीकि आश्रम झण्डै ७० किमी पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकै दिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सकिन्छ ।
छैठौँ प्रमाणः– उता वाल्मीकि आश्रम अहिले पनि नेपालमै पर्छ । यो सबैले मानिआएको विषय हो । चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षको दक्षिणी सिमानामा अवस्थित यस आश्रममा नेपालकै भूमि भएर पुग्न सहज छैन । अहिले पनि त्रिवेणीबाट नारायणी पार गरेर इन्डियाको टंकी बजार पुगी इन्डियाकै वाल्मीकि बाघ संरक्षण क्षेत्र हुँदै सुननदी र पतनदी तरेर पुग्नुपर्ने अवस्था छ । यसमा नेपाल सरकारको खासै ध्यान पुगेको छैन ।
सातौँ प्रमाणः– रामायणको अन्तिमतिर वाल्मीकि, सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ । वाल्मीकिले सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामको जिम्मा लगाउने योजना थियो । उनीहरूको भेट भएको ठाउँ अहिलेको देवघाट हो । त्यो वेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने सोचेकाले सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन् । यसबाट दुःखी भएकी सीताले धरती मातालाई पुकारिन् । धरती फाटिन् र सीता धरतीमा समाहित भइन् । त्यो ठाउँको दर्शन गर्न अहिले पनि देवघाटमा तीर्थालुहरूको भिड लाग्छ ।
आठौँ प्रमाणः– अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ । अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ । अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ । उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सनु हुँदैन । पाल्पामा पनि रामपुर छ । रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तध्र्यान भएका थिए । रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लिखित छ । वरिपरिका रामनाम युक्त ठाउँहरू रामले विजय प्राप्त गरेका ठाउँहरू हुन सक्छन् ।
यी आठवटा सत्य कुराको थप अनुसन्धान गरी यसको प्रचारप्रसार गरेर बुद्धको मात्र होइन रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामु राख्नुपर्छ । अनि इन्डियासँग हाम्रो झुकेको नाता (सीताको माइती भएका कारण) लाई समाप्त गरिनुपर्छ । राम जन्मभूमिको विवादलाई लिएर इन्डियाको अयोध्यामा हजारौँ मानिसहरूको ज्यान गइसकेको छ र झगडा यथावत् छ । रामायणमा वर्णित सरयू नदी, माडी या नारायणी र राप्तीमध्ये कुनै एक हुनुपर्छ । यी तथ्यहरूले रामको जन्मभूमि नेपालमा नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाइँ होइनन् हाम्रै देशका सन्तान हुन् छोरा हुन् भन्ने कुरालाई सगर्व हृदयंगम गर्नुपर्छ ।