सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंकिङ पहुँच विस्तार
2020/07/14, 1:00
 
bank

नौ जिल्ला रहेको सुदूरपश्चिममा ७ पहाडी र २ तराईका जिल्ला छन् । पहाडको तुलनामा तराईका जिल्लामा विकास भएको छ । मूलकमै विकासका दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सबैभन्दा पछाडी मानिन्छ । तर, प्रदेशमा क्रमशः विकासको दर बढ्दै गइरहेको छ । प्रदेशमा आर्थिक गतिविधि पनि बढ्न थालेका छन् । यहाँका स्थानीय तहहरूमा पनि बैङ्किङ पहुँच विस्तार बढ्दै गएको छ ।

थलारा पहुँच बाहिर, सेवाग्राहीलाई सास्ती 
प्रदेशको विकट जिल्ला बझाङको थलारा गाउँपालिका अहिले पनि बैकिङ पहुँच बाहिर छ । बझाङका अन्य स्थानीय तहमा भने बैकहरू स्थापना भइसकेका छन् । थलारा गाउँपालिका ५ मा बैकिङ विस्तारका लागि तयारी पूरा भए पनि कोरोना भाइरसका कारण रोकिएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । गाउँपालिका जनता लगायत जनप्रतिनिधिहरूलाई बैंङक नहुँदा निकै सास्ती भइरहेको उनले बताए । अहिले बैङ्किङ सेवाका लागि त्यहाँका सर्वसाधारण र जनप्रतिनिधि सदरमुकाम चैनपुर पुगिरहेका छन् । गाउँपालिकामा बैंङको शाखा स्थापना गर्न सरोकारवालासँग छलफल भए पनि अहिलेसम्म शाखा स्थापना हुन नसकेको उनले बताए ।

८७ स्थानीय तहमा बैकिङ पहुँच विस्तार 
सुदूरपश्चिम प्रदेशमा बैकिङ पहुँच बिस्तार हुन थालेको छ । ८८ स्थानीय तह रहेको प्रदेशका हालसम्म ८७ वटा स्थानीय तहमा बैंकका शाखाहरू खुलेका छन् । बझाङको गाँउपालिकामा मात्रै बैकिङ पहुँच पुग्न सकेको छैन । नेपाल राष्ट्र बैकले १४ चैत २०७४ मा  एउटा स्थानीय तहमा कम्तीमा पनि एउटा वाणिज्य बैकको शाखा अनिवार्य विस्तार हुनुपर्ने भन्दै वाणिज्य बैकहरूलाई निर्देशन दिएको थियो । बैङ्कको निर्देशन पूर्व यो सुदूरपश्चिम प्रदेशमा ३५ वटा स्थानीय तहमा बैङ्क सुविधा थियो । निर्देशनपछि प्रदेशका ५२ स्थानीय तहमा बैङ्कको शाखा विस्तार भएका छन् । प्रदेशका ८८ वटै स्थानीय तह मध्ये ८७ वटा स्थानीय तहमा बैंङकको शाखा स्थापना भइसकेको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ ।

चालू आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने लक्ष्य रहे पनि कोरोना भाइरसका कारण प्रभावित बनेको नेपाल राष्ट्र बैंक धनगढी कार्यालय निर्देशक निश्चल अधिकारीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण घट्दै गए शाखा विस्तारमा सहजता आउने उनले बताए । 

अर्थमन्त्री भन्छन्ः ‘पहिलो चौमासिकमै बैंक पुग्छन’
चालू आर्थिक वर्ष भित्रै प्रदेशका ८८ वटै स्थानीय तहमा बैंकिङ  पहुँच पु¥याउने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रतिबद्धता जनाएका थिए । आर्थिक वर्ष सकिँनै लाग्दा प्रदेशका ८७ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । बझाङको थलारा गाँउपालिका मात्रै पहुँच बाहिर छ ।

कोरोना भाइरसको महामारीका कारण सबै काम प्रभावित बन्दा थलारामा पहुँच पु¥याउन नसकिएको अर्थमन्त्री बोहराले बताए । उनले भने, ‘यसै आर्थिक वर्षभित्र सबैमा पु¥याउने योजना थियो । ८७ स्थानीय तहमा पु¥याउन सफल भयौँ । तर, कोरोनाका कारण सबै तयारी पुगेर पनि थलारामा बैकिङ पहुँच पु¥याउन सकेनौँ,’ उनले थपे, ‘आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्रै हामी त्यहाँ पनि शाखा विस्तार गर्छौँ ।’

मन्त्री बोहराले बैकिङ पहुँच बिना आर्थिक विकास सम्भव नहुने भएकाले तत्काल शाखा विस्तारका लागि पहल भइरहेको दाबी गरे । प्रदेशका सबै स्थानीय तहमा बैक शाखा स्थापना गर्न सकिए प्रदेशको आर्थिक वृद्धिदर अझ बढ्ने अपेक्षा रहेको उनको भनाई छ । ८८ वटै  स्थानीय तहमा बैंक पहुँच पु¥याउन सके प्रदेशका जनता र आर्थिक विकासमा ठूलो टेवा पुग्ने मन्त्री बोहराले बताए ।