२०५४ साल भदौं २७ मा जनआस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भयो । लेखको शीर्षक थियो– ‘कालापानी काठमाडौंलाई किन दुख्दैन् ?’ यो बेजोड लेखका लेखक थिए, प्रेमसिंह धामी । तत्कालीन एकीकृत माक्र्सवाद लेनिनवाद (एमाले) का सांसद । कालापानीका सच्चा योद्धा । लेख प्रकाशित भएको भोलीपल्ट नै अर्थात भदौं २८ मा नुवाकोटको मदानपुर स्थित केउरिनी भीरमा जीप दुर्घटना भएको समाचार आयो । अपत्यारिलो लाग्ने त्यो जीप दुर्घटनामा कालापानीका यिनै नेपाली सपूत प्रेमसिंह धामीको निधन भयो ।
नेपालको अभिन्न अंग र सुदूर पश्चिमी सीमाको मुटु मानिने दार्चुलामा अवस्थित कालापानीको मुद्धालाई सडकदेखि सदनसम्म पुर्याउन प्रेमसिंह धामीको ठूलो योगदान छ । २०१८ सालदेखि भारतले आफ्नो अधिनमा राखेको कालापानीको विषयलाई राष्ट्रिय मुद्धा बनाउने बीर नेपाली सपूत हुन्, प्रेमसिंह धामी । आजकै दिन २२ वर्षअघि उनको जीप दुर्घटनामा निधन भएको थियो। नेपालका सच्चा सपूत धामीलाई हिजोआज थोरै मात्र नेता तथा कार्यकर्ताले सम्झने गर्छन । उनको गृहजिल्ला दार्चुलामा भने कार्यक्रमको आयोजना गरि हरेक वर्ष उनलाई सम्झिने गरिन्छ । अन्तराष्र्टि«य राजनीतिको समेत चेत भएका नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका धामी कुनै बेला कालापानीसँगै नेपाली राजनीतिमा खुब चर्चामा थिए । उनको असमायिक निधनले देशले ठूलो क्षति बेहोर्नु पर्यो र अहिले पनि बेहोरिरहेकै छ ।
तत्कालीन समयमा नेकपा एमालेका महाकाली इन्चार्ज रहेका धामी प्रखर वक्ता थिए । उनको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको भन्दै केन्द्रका नेताहरू उनको प्रसंसा गर्छन । तर, आज उनलाई सम्झने दिन । न उनको पार्टीले सम्झियो, न नेताहरूले नै । जसले कालापानीको मुद्धालाई राष्ट्रिय मुद्धाको रुपमा स्थापित गरायो, उनलाई बिस्तारै देशले बिर्सदै गएकोमा गुनासो गर्छिन्, प्रेमसिंह की पत्नी नन्दा देवी धामी । नन्दाले राज्यबाट कुनै अपेक्षा पनि गरेकी छैनन । उनको एउटै भनाई छ, जनताका लोकप्रिय नेता, जसको दुर्घटना नुवाकोटको मदानपुरको केउरिनी भीरमा भयो, त्यहाँ प्रेमसिंह धामीको शालिक स्थापना गरियोस । ‘उहाँको योगदानलाई कम से कम पार्टीका नेताले भदौं २७ मा स्मरण गरिदियोस् भन्ने मलाई लाग्छ,’ श्रीमति नन्दाले गुनासो पोखिन । विगतमा उनी भदौं २७ मा महेन्द्रनगरबाट सपरिवार नुवाकोट स्थित केउरिना भीर पुगेर आफ्नो श्रीमान र लोकप्रिय नेतालाई श्रद्धा सुमन अर्पण गर्थिन् । तर, यसपालि उनी नुवाकोट नआएर महेन्द्रनगरबाट सिधै दार्चुला पुगेकी छिन । देशको बिडम्बना । यतिबेला प्रेमसिंह धामीको श्रद्धाञ्जली सभा दार्चुला बाहेक अन्य कही पनि मनाइदैन ।
लामो समय कञ्चनपुरबाट राजनीति गरेका प्रेमसिंह गृह जिल्ला दार्चुलाबाट निर्वाचित सांसद थिए । नन्दा कञ्चनपुरले त अझ उनलाई कहिल्यै नसम्झेको गुनासो गर्छिन । काठमाडौंमा ‘कालापानी ल फर्म’ खोलेर बसेका वकिल प्रेमसिंह धामीले लामो समय आफ्नो नामसँग मेल खाने नेता प्रेमसिंहसँग संगत गरेका थिए । उनी पनि गुनासो गर्छन, ‘नेपालीलाई सधै बिजिरहने कालापानीको मुद्धालाई पहिलो पल्ट राष्ट्रियकरण गरेका धामीको दुर्घटनामा निधन भएको यति धेरै समय बितिसक्यो तर न उनको पार्टी, न देशले उनलाई सच्चा श्रद्धाञ्जली दिन सकेको छ,’ वकिल प्रेमसिंह भन्छन । उनी दुर्घटना भएको स्थलमा प्रेमसिंहको शालिक भएपनि स्थापना गरिनुपर्ने माग राख्छन । उनी दुर्घटना स्थलमा शालिक बनाउने सम्बन्धमा भन्छन्, ‘स्थानीय नेता, समाजसेवी र प्रशासनसँग कुरा भइसकेको छ । आर्थिक कठिनाईका कारण शालिक निर्माण गर्न सकिरहेका छैनौं । सम्भवत अर्को वर्ष भदौं २७ मा निजको शालिक अनावरण गरिसक्छौं कि ?’
दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद गणेश ठगुन्ना आफ्ना अग्रज नेताको योगदान प्रति नतमस्तक हुन्छन् । भन्छन्, ‘हामीले उहाँको योगदानको चर्चा गर्नेपर्छ । उहाँको आत्माको शान्ति तथा सबै नेपालीले सम्झनका लागि भएपनि शालिक निर्माण गर्नेपर्छ,’ ठगुन्नाको भनाई छ । प्रेमसिंहको समाजप्रतिको लगाव र देशको राजनीति एवम् सीमा सम्बन्धी सोचलाई राज्यले कदर गर्नुपर्ने हुन्छ । उनले उठाएका मुद्धा र देखेको सपनाले मात्र यो देशलाई समृद्ध र आत्मसम्मान दिलाउँछ । प्रेमसिंहको निधन हुँदा उनको शवलाई पहिले काठमाडौंको खुलामञ्चमा श्रद्धाञ्जली दिइएको थियो ।
भोलिपल्ट गृह जिल्ला दार्चुला पुर्याएर त्यहाँको खुलामञ्चमा हुँदै महेन्द्रनगरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेर महाकाली नदीमा बिर्सजन गरिएको थियो । सदियौं देखि दबिएको सुदूरपश्चिमको आवाजलाई देशभित्र प्रखर रुपमा उठाउने यी योद्धाको निधन प्रति गहिरो श्रद्धासुमन । राजेन्द्र कुँवर/ व्रेकलिंक नेपालीबाट