अख्तियारको दुरुपयोग गर्दै नगर प्रमुखले ब्रह्मलुट गरेको भन्दै उपमेयरको आपत्ति
2020/07/16, 8:36
 
corona

बाजुराको बुढीनन्दा नगरपालिकामा नगर प्रमुख पदम कुमार गिरीको संलग्नतामा प्रचलित नीति नियम विपरित योजना कार्यान्वयन गर्नुका साथै रकम भुक्तानी गरिएकोमा उप प्रमुख सृष्टि रेग्मीले आपत्ति जनाएकी छन् । उप प्रमुख रेग्मीले प्रेस विज्ञप्ती जारी गरी नगर प्रमुखकै संलग्नतामा प्रचलित नीति नियम विपरित योजना कार्यान्वयन गर्नुका साथै अधुरा योजनाहरुको शत प्रतिशत रकम भुक्तानी गरिएकोमा आपत्ति जनाएकी हुन् ।

आर्थिक वर्ष २०७५÷७६ को नगर सभाले ३० लाख रुपैयाँ भन्दाका बढीका योजनाहरुको ईबिडिङ मार्फत ठेक्का दिने निर्णय सर्वसम्मतिबाट पारित गरेको थियो । नगर सभाको त्यो निर्णय वेवास्ता गर्दै धुपेगाड बडाला सडकमा विनियोजित ५० लाख रुपैया मध्ये ९७ प्रतिशत काम नगर प्रमुख गिरीकै मातहतमा रहेको डोजरले सम्पन्न गरेको थियो । त्यसका साथै नगर सभाको निर्णय लत्याउदै उपभोक्ता समिति मार्फत धुपेगाड बडाला सडकको निर्माण सुरु गरिएको थियो ।

1

अनुगमन समितिको संयोजकको हैसियतले उप प्रमुख रेग्मीले धुपेगाड बडाला सडकको अनुगमन गरेपछि असार २८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई विनियोजित रकम बराबरको काम नभएको भन्दै शत प्रतिशत रकम दिन नमिल्ने भन्दै अनुगमन प्रतिवेदन बुझाएकी थिईन । नगर प्रमुख गिरीको दवावमा योजनाको शत प्रतिशत रकम भुक्तानी गरिएकोमा समेत उपप्रमुख रेग्मीले आपत्ति जनाएकी छन् ।

त्यस्तै नगर प्रमुख गिरीका बुवाका नाममा अख्तियारी रहेको नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्कामा एक करोड ३० लाख रकमको पेस्की फछ्र्यौट नगर्दै थप ७७ लाख भुक्तानी गरिएकोमा समेत उपप्रमुख रेग्मीले असहमति व्यक्त गरेकी छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने योजना सुरु भएको एक वर्ष पुरा भईसकेको छ । तर कार्य प्रगति भने न्यून छ । 

नगर प्रमुख गिरीमाथि विकासको बजेटलाई आफू खुशी दुरुपयोग गर्दै आएको आरोप छ । अुधरा र कामै सम्पन्न नभएका योजनाको पुरै रकम नगर प्रमुखकै दवावमा नगरपालिकाले भुक्तानी दिदै आएको छ । हालै क्वारेन्टाईनमा रहेका व्यक्तीहरुलाई कोरोना परीक्षण नगरेर नगर प्रमुख गिरीले टीका लगाएर घर पठाएपछि उनको तिव्र आलोचना भएको थियो । टीका लगाएर घर पठाएका मध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगर प्रमुख गिरी निकै आलोचित भएका थिए ।