दार्चुलाको सीमामा खटिएका सुरक्षाकर्मीको त्रिपालमुनि बास
2020/07/16, 3:36
 
sima apf

चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकर स्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन ।

गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो । नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताए । यो क्षेत्रमा विवाद छैन् । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समय अनुसार गरिरहेको उनले बताए। छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमा स्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् । 

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन् । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् । 

छायालेकका दुवै भवन बस्न लायक छैन् । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो । दिनभरी हावाहुरी चल्छ। प्रहरी चौकी इञ्चार्ज महताले भने, “पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउँरा खोज्नै मुस्किल छ । चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिन भित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् । गाउँभन्दा झण्डै एकदेखि डेढ घण्टाको दूरीमा प्रहरी चौकी छ । गाउँसम्मै गस्ती गर्न सास्ती छ ।”  

छांगरु प्रहरी भवन जीर्ण
तिंकरका छायालेक सीमा प्रहरी चौकी मात्र हैन्, छांगरुमा रहेको नेपाल प्रहरीको भवन पनि जीर्ण छ । विगतमा भेडा बाख्रा राखिएको गोठमा नेपाल प्रहरीले रात बिताउँदै आएको छ । व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भने, “राष्ट्को सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ ।” उनले भने, “यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु ।”

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट छांगरु र तिंकर प्रहरी चौकीको भवनबारे आफूले माथिल्लो निकायमा जानकारी गराएको बताउँछन् । प्रहरीलाई बाह्ैमास राख्नको लागि आधुनिक सुविधायुक्त भवन चाहिन्छ। प्रदेश र संघीय सरकारसँग भवनको बारेमा जानकारी पुगेको छ ।

प्रहरीलाई फोन छैन
छांगरुमा इन्टरनेट र फोन सुविधा रहेपनि तिंकरमा फोन सेवा छैन् । तिंकर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन । सञ्चार सेट मार्फत जिल्लामा सम्पर्क गर्नु बाहेक घरपरिवारसँग कुराकानी गर्न फोन सेवा छैन् । छांगरुमा राखिएको स्काइ फोन टावर तिंकरसम्म काम गर्न नसक्दा प्रहरी मात्र हैन स्थानीय समेत फोन सेवाबाट वञ्चित भएका छन् । दुई साता अघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल चीन सीमा स्तम्भसम्म संयुक्त गस्ती गरेका छन्। झण्डै साढे पाँच हजार मिटर उचाइमा रहेको नेपाल चीन सीमा स्तम्भमा दुवै सुरक्षा निकायले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी व्यास गाउँपालिकाको वडा नम्बर १ छांगरुको गागामा छ । गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिंकर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् ।