क्वारेन्टाइनमा बसिरहेकी महिलाको रक्तश्राव हुँदा गर्भ तुहियो
2020/05/14, 4:28
 
quarintine

भारतको रामपुरस्थित क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाको उच्च रक्तश्राव हुँदा पाँच महिनामै गर्भ तुहिएको छ। बझाङको थलारा गाउँपालिका वडा नम्बर २ भनाडा घर भएकी सरिता नेपालीले उच्च रक्त श्राबका कारण शिशु गुमाउनुपरेको हो। 

५० दिनदेखि भारतको क्वारेन्टाइनमा बसिरहेकी उनको स्वास्थ्य स्थिती नाजुकहुँदा उच्च रक्तश्राव भई गत मंगलबार राति १२ बजे शिशुको ज्यान गएको उनका श्रीमान जनक नेपालीले बताए। गर्भवती अवस्थामा पोषणयुक्त खाना र स्वच्छ पानी नहुनु र बढी तनावका कारण रक्तश्राव भएको उनीहरुको भनाई छ।

थलारा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाहरु भारतका विभिन्न शहरबाट आएर ९३ जना उत्तर प्रदेशस्थित रामपुरको एक सार्वजनिक घरमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्। बाथरुमको दुषित पानी र दिनको एक पटक पुरी मात्रै खाएर बस्नुपरेको उनीहरुको गुनासो छ। 

यसअघि एक जना महिला त्यही क्वारेनटाइनमा सुत्केरी भएकी थिइन भने अझैं दुई जना महिला गर्भवती रहेको थलारा २ का भरत थापाले बताए। यता थलारा गाउँपालिकाका अध्यक्ष्य भुवनेश्वर उपाध्यायले भने यस्तो खबर सुन्दा आफूहरु दुःखित भएको र अब उद्धारका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

३ दिनदेखि धनगढीस्थित मुख्यमन्त्रीदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि र प्रशासन कार्यालयमा धाइरहेको अध्यक्ष उपाध्यायको भनाई छ। उनले भने,‘म एकदमै दुखित छु। उहाँहरुकै उद्धारका लागि धनगढी पुगेको हुँ। उद्धारका लागि दुईवटा बस तयारी अवस्थामा राखेका छौ। कैलाली कञ्चनपुरका प्रशासनदेखि मुख्यमन्त्री र विभिन्न नेताहरुसँग लगातार बहस गरिरहेको छु। काठमाडौंमा पनि माननीय ज्यु मार्फत प्रक्रिया अगाडी बढ्दै छ। ७० प्रतिशत उद्धार हुने सम्भावना छ।’

उता रामपुरमा रहेकाहरुले पनि अध्यक्ष अहिले सम्पर्कमा रहेकाले उद्धार हुने आशामा रहेका बताएका छन्।