सुदुरपश्चिम सरकारका मन्त्री र सांसद भन्छन्–‘तस्करले वन संरक्षणको नाममा धम्क्याउँदा जनतालाई दुःख भयो’
2020/07/16, 8:24
 
ban

सुदुरपश्चिम सरकारका मन्त्री तथा सांसदहरुले तस्करले वन संरक्षणको नाममा धम्क्याउँदा जनतालाई दुःख भएको आरोप लगाएका छन् । डिभिजन वन कार्यालय कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा उनीहरुले यस्तो आरोप लगाएका हुन् । ‘हाम्रो आम्दानीको श्रोत नै वन हो’ भन्ने नारा सहित भएको अन्तरक्रियामा सुदुरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले तस्करले वन संरक्षण गर्ने नाममा धम्की दिदा नागरिकलाई समस्या भएको बताईन् ।

संघीय सांसद प्रेम आले मगरको नाम नलिएर मन्त्री भट्टले भनिन्– ‘तस्कहरुले संरक्षणका नाममा उपभोक्तालाई धम्की दिएका छन् । वनको सदुपयोग गरेर सम्वृद्ध नेपाल बनाउनु पर्नेछ, नियम संगत लागु भएको वैज्ञानिक वन र रुख कटान कार्य कसैले रोकेर रोकिदैन ।’ प्रदेश भित्र भएको वनमा प्रदेश सरकारकै अधिकार हुने भन्दै मन्त्री भट्टले सार्वजनिक लेखा समितिको उप–समितिले भन्दैमा रुख कटान बन्द नहुने जिकिर गरिन् । 

अर्थ व्यवस्था तथा प्राकृतिक श्रोत समितिका सभापति हर्क बहादुर कुँवरले रुख कटान बन्द गर्न नसकिने भन्दै त्यसमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न सकिने धारणा व्यक्त गरे ।  सार्वजनिक लेखा समितिको वैज्ञानिक वन अध्यन उप–समितिका सदस्य प्रेम आले मगरलाई लक्षित गर्दै उनले भने– ‘दुधको साक्षी बिरालो राख्यो भने के होला ? आफै जान्नुस् । कसैले भन्दैमा रुख कटानी रोकिदैन ।’ उनले भने–  ‘कटानी,  ढुवानी तथा आपूर्ति गर्ने अधिकार प्रदेशसँग सुरक्षित छ ।  हामी आफ्नो अधिकारको प्रयोग गछौं ।’

सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीले डिभिजन वनका प्रमुखलाई रुख कटानी तथा ढुवानी कार्य अघि बढाउन आग्रह गरे  । लड्नु परे प्रदेश सरकार लड्ने भन्दै उनले वन डिभिजन प्रमुखलाई आग्रह गरेका हुन् ।  अनियमितता भएको तथा नियम विपरित कार्य भएको भए छानविन गर्न थुप्रै निकाय रहेको बताउँदै उनले उप–समितिले भनेको आधारमा वैज्ञानिक वन व्यवस्थापन तथा रुख कटानी रोक्न नमिल्ने बताए । ‘कुनै निकायबाट मान्यता नै नभएको उप–समितिले भन्दैमा नियम संगत गरिएको काम रोकिदैन’ उनले भने– ‘अनियमितता भए, नभएको छानविन गर्ने सरकारी मान्यता प्राप्त निकाय छदैछन्, कर्मचारीले ढुक्कसँग काम गरे हुन्छ ।’

प्रदेश सभा सदस्य महेशदत्त जोशीले संघीय सांसद प्रेम आलेलाई ‘सन्की नेता’ को संज्ञा दिदै भने– ‘एक जना सन्की नेताका कारण नियम संगत अघि बढेको वैज्ञानिक वनका कार्यक्रम अन्यौलमा परेका छन्, निजी स्वार्थपूर्ति गर्न यस्तो गर्नु उपयुक्त भने होईन ।’ उनले प्रेम आलेको नाम नतोकेरै ५ बर्षका लागि सांसद भएको मान्छेले आफुलाई राजा हुँ भन्ने नठान्न चेतावनी दिए । 

प्रदेश वन निर्देशक हेमराज विष्टले वनलाई खेती प्रणालीका आधारमा संरक्षण गर्दै बढ्दा काठको मागलाई पुर्ति गरिनुपर्ने बताए । उनले वन बचाउन र माग अनुसारको काठ पूर्ति गर्न वैज्ञानिक वन नै उपयुक्त भएको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले पनि वैज्ञानिक वनका कमजोरीलाई सच्याएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।  

संघीय सरकारले जेठ १५ गते रुख कटानी र ढुवानी रोक्न निर्देशन दिएको थियो ।  तर पनि कैलाली सहितका जिल्लामा रुखहरु कटानी र ढुवानी भएको उजुरीका आधारमा केही दिन अघि आएको संघीय सँसदको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन लागु भएका  सामुदायिक वनमा भएको रुख कटानीको अध्ययन गरेको थियो । टोलीमा साँसद एवम् सार्वजनिक लेखा समितिका सदस्य प्रेम आले पनि सहभागी रहेका थिए । अध्ययन उप समितिका सदस्य आलेले अध्ययनका क्रममा सामुदायिक वनका पदाधिकारीहरुलाई धम्क्याउने र तत्काल वन कटानी रोक्न निर्देशन दिएपछि आक्रोस बढेको थियो ।