साउदीमा ६ सय ७४ जना नेपालीमा कोरोना सङ्क्रमण
2020/05/14, 4:30
 
korona

साउदीमा ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ। साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदीका विभिन्न ठाउँमा मंगलबारसम्ममा ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

नेपाली श्रमिकको ठूलो उपस्थति रहेको साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीलाई सङ्क्रमण भएको दूतावासले उल्लेख गरेको छ। सङ्क्रमितमध्ये ११ जना महिला र बाँकी पुरुष रहेका छन्।

सङ्क्रमितमध्ये धेरै जना निको भएर काममा फर्केको साउदीले जनाएको छ। तर कति निको भए भनेर यकिन विवरण भने दिएको छैन। साउदीमा कोरोना सङ्क्रमणको जोखिम सुरु भएसँगै अहिलेसम्म ३१ जना नेपालीले ज्यान गुमाएको र जसमध्ये एकजना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ। साउदीमा अहिलेसम्म ४२ हजार ९२५ मा कोरोना सङ्क्रमण भएको छ।

जसमध्ये १५ हजार २५७ जना निको भएका छन् भने २६४ जना सङ्क्रमितको ज्यान गएको छ।