सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा
2020/07/17, 11:42
 
corona

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । कार्यक्रममा आएको ६ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको संघीय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले बताए । सो रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह मेलौली, पुचौैडी र दशरथचन्द नगरपालिका तथा शिवनाथ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिएको हो ।   

मेलौली नगरपालिकाको, लामालेक–बलाराघाट सडक खण्डमा खर्च हुन नसकेको २५ लाख, पुर्चाैडी नगरपालिकाको भटना–श्रीभावर सडक खण्डमा खर्च हुन नसकेको १० लाख, दशरथचन्द नगरपालिकाको गढी खेल मैदान निर्माणमा खर्च हुन नसकेको २२ लाख ९७ हजार १९१ र शिवनाथ गाउँपालिका स्थित पर्यटकीय पदमार्ग निर्माणमा खर्च हुन नसकेको १८ लाख ७१ हजार ३९० कोरोना कोषमा जम्मा गरिएको छ । विकास निर्माणका योजनाका लागि छुट्याएकोमध्ये बचत भएपछि सो रकम स्थानीय तहकै कोरोना जम्मा गरिएको बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले बताए । असार १५ सम्म खर्च गर्नुपर्ने रकम खर्च हुन नसकेपछि कोरोना कोषमा जम्मा गरिएको हो ।

उनले भने, “रकम फ्रिज हुनुभन्दा महामारी नियन्त्रण गर्न सहयोग पुगोस् भनेर कोरोना कोषमा जम्मा गरेका हौँ ।” सरकारले असार २ गते खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय गरेको थियो । जम्मा भएको सो रकम सम्बन्धित स्थानीय तहमै कोरोना जोखिम नियन्त्रणका लागि खर्च गरिने जनाइएको छ। पुर्चाैडी नगरपालिकाको १० लाख रकम सोही पालिकामा निर्माण भएको आईसोलेसन सुधारका लागि खर्च गरिने गरिने छ । शिवनाथ गाउँपालिकाको १८ लाख ७१ हजार ३९० पनि सो गाउँपालिकाका सबै वडामा आइसोलेसन निर्माण तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ ।

यस्तै दशरथचन्द नगरपालिकाको २२ लाख ९७ हजार १९१ सबै वडामा आइसोलेसन बेड निर्माण र स्वास्थ्य पूर्वाधारमा खर्च गरिने छ । मेलौली नगरपालिकामा खर्च हुन नसकेको २५ लाख बजेटबाट नगरपालिकामा पिसिआर मेशिन खरिद गरिने सांसद भण्डारीका स्वकीय सचिव भण्डारीले बताए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गतको सो ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा भएपछि स्थानीय तहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहज भएको जनाएका छन ।