सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा बर्षा भएपछि कैलालीका नदीहरुमा जलस्तर बढेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ ।
अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्न रोकिए पनि पूर्ण रुपमा भने मौसम नखुल्ने बताइएको छ मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ । मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठुलो र एक दुई ठाउँमा निकै ठुलो पानी पर्नेछ ।
सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुन आग्रह गरिएको छ । यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।