‘ग्याङ’ फाईटमा गम्भीर घाईते दुई जनालाई रेफर
2020/07/18, 2:40
 
gang

धनगढीमा ‘ग्याङ’ फाइट हुँदा घाईते भएका दुई जना युवकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरमा धारिलो हतियार प्रहार गरी घाईते भएका दुई जनालाई उपचारको लागि काठमाडौँ लगिएको हो ।

वडा नम्वर १३ का २३ बर्षीय निरज भट्ट र वडा नम्वर ६ का २२ बर्षीय गणेश धामीलाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनले दुबै जनाको अवस्था भने खतरामुक्त रहेको बताए । यसअघि उनीहरुको धनगढीकै निसर्ग अस्पतालमा उपचार भईरहेको थियो । गएराति धनगढीको राजपुरमा दुई समूहबिच ‘ग्याङ’ फाइट भएको थियो ।

खुकुरी प्रहार गर्ने  वडा नम्वर ३ का २२ वर्षीय सन्नी नेपाली र धनगढी उप–महानगरपालिका २ का २२ वर्षकै दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । व्डा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक हेमराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई जनालाई गएराति नै पक्राउ गरेको थियो । युवाहरुको दुई समूह बिच यसअघि पनि झडप हुँदै आएको थियो ।