बाढी पीडितको बहानामा हरेक वर्ष कैलालीको वन क्षेत्र अतिक्रमण भइरहेको छ । पछिल्ला वर्ष चुरेबाट बग्ने तराईका नदी छेउका बस्ती पनि बाढी प्रभावित हुने गरेका छन । चुरे दोहनले बाढीको प्रभाव बढ्दै गएको हो । बाढी आएपछि खोला छेउमा बस्दै आएका परिवारहरू जंगलभित्र पस्ने प्रवृत्तिले जिल्लाको वनको क्षेत्रफल घट्दै गएको छ । ‘चुरेको संरक्षण विना बाढीबाट जोगिन मुस्किल छ,’ संरक्षणकर्मी गंगा चौधरीले भने, ‘बाढी पीडितको उचित व्यवस्थापन नगरे जंगल जोगाउन कठिन छ ।’
उनले चुरेमा भएको वन विनाश र ढुंगा गिट्टीको उत्खनन्ले कैलालीको दक्षिणी भेक बर्खामा डुबान पर्ने गरेको बताए । १५, २० वर्षअघि ५ मिटर चौडाइमा बग्ने खोलानाला अहिले ५० मिटर फराकिला भएका छन । वरिपरिका बस्ती विस्थापित भएर जंगलतिर सर्छन । त्यही बेला वन क्षेत्र मासिन्छ । चुरेबाट बग्ने मोहना, कान्द्रा, गौरीगंगा, बान्द्रालगायत नदीमा आउने बाढीले भजनी र कैलारी गाउँपालिका थुप्रै बस्ती हरेक वर्ष प्रभावित हुने गरेका छन । चौधरीले भने, ‘बाढीबाट कम्तीमा सय घर परिवार विस्थापित भई जंगल छेउ टहरा बनाएर बस्ने गरेका छन ।’
अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठले पनि विगत ११ वर्षदेखि वन क्षेत्र बाढी पीडितका नाममा निरन्तर अतिक्रमण भइरहेको बताए । ‘पहिला पहिला वन माफियाहरूले राजनीतिक दलको संरक्षणमा भूमिहीन र सुकुम्बासीद्वारा वन क्षेत्र आवादी हुन्थ्यो,’ उनले भने, ‘अहिले बाढी पीडितका नाममा अतिक्रमण हुने गरेको छ ।’ उनका अनुसार पछिल्ला वर्षमा सुकम्बासीका नाममा हुने अतिक्रमण लगभग बन्द छ ।
श्रेष्ठ वर्षामा बाढी पीडितलाई वन क्षेत्रभित्र पस्न रोक लगाउनुपर्ने धारणा राख्छन् । ‘मानवीय हिसाबले उनीहरूलाई जंगल छेउ टहरा बनाउन सुविधा दिने गरिन्छ,’ उनले भने, ‘पछि त्यो स्थान नछाडेर जंगल पुरै आवादीमा परिणत हुने गरेको अवस्था छ ।’ उनी सरकारले जंगल ओगट्ने बाढी पीडितहरूलाई वन क्षेत्र नभएको खाली स्थान खोजेर बसाउनुपर्ने औल्याउँछन् । ‘बाढी पीडित अलपत्र पार्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘वन क्षेत्र पनि बचाउनुप¥यो, उनीहरूको पनि वैकल्पिक तथा उचित व्यवस्थापन गर्नुप¥यो ।’ श्रेष्ठले वर्षामा हुने वन अतिक्रमण रोक्न सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी रहेको औंल्याए ।
उनले भने, ‘बाढी पीडितलाई तत्काल उद्धार गरी कहाँ राख्ने भन्ने पूर्वयोजना कहिल्यै बन्दैन ।’ कैलालीको वसन्ता जैविक मार्गमा हरेक वर्ष अतिक्रमण हुने गरेको छ । वन डिभिजन कार्यालयको एक तथ्यांक अनुसार कैलालीमा ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । डिभिजन वन कार्यालय कैलालीका अनुसार २५ हजार हेक्टर पुरानै अतिक्रमण हो भने ५ हजार हेक्टर विगत १० वर्षयताको बर्खामा भएको अतिक्रमण हो ।
‘नेपालकै सबैभन्दा राम्रो वनको रूपमा रहेको कैलालीको वन क्षेत्रलाई जोगाउन, अतिक्रमणको चुनौती हो,’ डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘पछिल्लो समयमा अतिक्रमण बढेको देखिन्छ ।’ उनी बाढी प्रभावितद्वारा हुने अतिक्रमण रोक्न कठिन भएको स्विर्काछन् । ‘तत्कालको परिस्थतिमा प्रभावितहरूलाई पाल दिएर बस्न दिईन्छ,’ उनले भने, ‘पछि उनीहरू नै जंगल फाँड्दै टहरा थाप्दै जान्छन् ।’
चोरी–तस्करी बर्खामै
बर्खामा काठ चोरी तस्करी बढ्ने गरेको स्थानीय सीताराम चौधरी बताउँछन् । बर्खाका बेला सुरक्षाकर्मी र समुदायिक वनका पहरेदारहरूको गस्ती घट्ने भएकाले चोरी तस्करी बढ्ने उनको बुझाइ छ । ‘ठूलो वर्षा भइरहेका बेला तस्करी गर्ने समूह रुख काटिरहेका हुन्छन्,’ उनले भने, ‘स्थानीय बासिन्दाको ध्यान बाढीबाट जोगिनेतर्फ भएका मौकामा तस्करी बढ्छ ।’