कैलालीको घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ती फरार रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुखडमामा शनिवार बिहानै घटना पुगेपनि मुद्दा दर्ता भने भएन ।
‘नाबालक भएको हुँदा मुद्दा दर्ता गर्न संरक्षक भेटिएन ।’ ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख ‘हरिशरण भट्टले भने ‘हामीले ओरेक नेपालको जिम्मा लगाएका छौँ ।’ पीडित बालिकाको आमा केही बर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । पिडित बालिकाको तर्फबाट संरक्षक बस्ने केही नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाईएको प्रहरीले बताए ।
‘प्रहरीले बालिकालाई सेफ हाउसमा राख्न भन्दै पठाउनु भएको हो ।’ ओरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले भनिन् ‘हामी कहाँ पुगेपछि मुद्दा हामी दर्ता गराउँछौँ ।’ उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गर्ने उनले बताईन् । ईलाका प्रहरी कार्यालयसम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आईतबार जाहेरी दर्ता हुने ओरेक नेपालले जनाएको छ ।
उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘गाउँमा पहिले थाहा भएर प्रहरीलाई पछि थाहा भएको हो ।’ उनले भने–‘हामी कहाँ जाहेरी आएको छैन । हामी अनुसन्धानमै छौँ ।’