दैजी छेला औद्योगिक क्षेत्रको पहुँच मार्ग दुई महिनामै भाँसियो
2020/07/19, 8:52
 
sadak

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गरिएको दुई महिनामै भासिएको छ । बेदकोट नगरपालिका–२ बसन्तथालामा निर्माण गरिएको दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग दुई महिनामै भासिएको हो ।  निर्माण कम्पनीले मापदण्ड विपरीत पहुँच मार्ग निर्माण गरेकाले सडक भासिएको स्थानीय पारस जोशीले बताए ।

उनका अनुसार दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग जेठ महिनामा निर्माण गरिएको थियो । ‘निर्माण कम्पनीको कारण सडक भासिएको हो,’ उनले भने, ‘ सडक ठाउँ ठाउँमा भासिएको छ ।’ बेदकोट निर्माण सेवाले निर्माण गरेको पहुँच मार्ग दुई तीन ठाउँमा भासिएको उनी बताउँछन् । ‘केही दिन अघि परेको वर्षाले पहुँच मार्ग भासिएको थियो,’ उनले भने, ‘ठेकेदार, जनप्रतिनिधि र प्राविधिकको मिलेमतोमा सडक तथा पहुँच मार्ग स्टिमेट विपरित निर्माण गरिएको छ ।’ भासिएको ठाउँमा तटबन्ध नगरिए पानी परेपछि थप सडक भासिने उनी बताउँछन् । ‘भासिएको सडक छेउमा तटबन्ध गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘समयमै तटबन्ध नगरे सरकारको लाखौं लगानी खेर जान्छ ।’ 

बेदकोट नगरपालिकाका–२ का वडाध्यक्ष नरेश सिंह पनि दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको पथरिया खोला नजिक सडक भासिएको बताउँछन् । ‘त्यो ठाउँमा खेतहरुबाट आएको पानी खोला जान्थ्यो, त्यहाँ ठूलो खाल्डो थियो,’ उनले भने, ‘त्यो स्थानमा सडक निर्माण गर्दा तटबन्ध गरिनुपथ्र्यो, तर राखिएन त्यसैले सडक भासिएको हो ।’ 

ईन्जिनियरले सडकको इस्मेट बनाउँदा तटबन्ध राख्नुपर्ने भएपनि छुटाएकाले सडक भासिएको सिंहको भनाई छ । ‘इन्जिनियरले स्टिमेट बनाउँदा तटबन्ध राख्न छुटाएछ, त्यसैले भासियो ।’ उनले भने, ‘निर्माण व्यवसायीले त स्टिमेट अनुसार नै काम गरेको छ ।’ निर्माण सम्पन्न भएको एक वर्षसम्म सडक भासिएमा मर्मत गर्ने जिम्मेवारी ठेकेदारको हुने बताउँदै वडाध्यक्ष सिंहले ठेकेदारलाई सडक मर्मत गर्न लगाइने बताए । ‘निर्माण व्यवसायीलाई भासिएको सडक मर्मत गर्न भनेका छौ ।’ उनले भने, ‘निर्माण व्यवसायीले केही दिनमै भाँसिएको ठाउँमा सडक मर्मत गर्ने बताएको छ ।’ 

इन्जिनियरले पहुँच मार्गको स्टिमेट बनाउँदा छुटाएको गरेको वेदकोट नगरपालिकाका सवईन्जिनियर नरेन्द्र बोहराले बताए । ‘सडकको स्टिमेट बनाउँदा दुई मिटरमा तटबन्ध राख्नु पथ्र्यो ।’ उनले भने, ‘त्यो स्टिमेटमा तटबन्ध नभएकाले निर्माण व्यवासयीले माटो भरान गरि ग्रावेल होलेको रहेछ ।’ पहुँच मार्गको पथरिया खोला नजिकको खाल्डोमा नयाँ भरान भएकोले सडक भासिएको उनी बताउँछन् । ‘तटबन्ध भएको भए सडक भासिने थिएन् ।’ उनले भने, ‘तटबन्ध नहुँदा भरान गरिएको माटो पानीले बगाएर भासिएको हो ।’ 

नगरपालिकाले दुई किलोमिटर सडक पिच गर्नका लागि एक करोड रुपैयाँको लागत अनुमान गरेको दैजी–छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गर्न वेदकोट निर्माण सेवाले घटाघटीमा ४९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । बेदकोट निर्माण सेवाले दैजी–छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको काम गत जेठ महिनाको अन्तिम साता सम्पन्न गरेको थियो । 

वेदकोट निर्माण सेवाका सञ्चालक देव चन्दले दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको एक ठाउँमा मात्रै भासिएको बताए । उनले भासिएको सडक मर्मत गर्ने बताए । ‘एक वर्षसम्म सडक मर्मतको जिम्मेवारी हाम्रै हुन्छ ।’ उनले भने, ‘वर्षातको समय सकिएपछि मंसिर महिनातिर मर्मत गर्छाै ।’