बझाङमा कार्यकर्तामुखी योजना भएको भन्दै विरोध
2020/07/19, 1:33
 
thalara

बझाङको थलारा गाउँपालिकामा यस वर्षको बजेट वितरणप्रति विरोध भएको छ । गाउँपालिकाका  नेपाली काँग्रेस पार्टीबाट जननिर्वाचित प्रतिनिधि सहित काँग्रेस समर्थक जनताले विरोध गरेका हुन् । काँग्रेस समर्थित जनप्रतिनिधिले गाउँ सभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दबाबका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाइएको  जनाएका छन् । 

थलारा–२ का वडाध्यक्ष हेम खड्काले काँग्रेसबाट निर्वाचित सदस्यको बेवास्ता गर्दै आफूखुशी मनोमानी ढङ्गले कार्यकर्ता र आफ्ना मान्छेलाई मात्र योजना वितरण गरिएको आरोप लगाए ।  गत असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बजेट भने असारको अन्त्यमा आएर मात्र प्रस्तुत गरेको थियो । नौ वडा रहेको  गाउँपालिकामा प्रत्येक वडामा ४० लाख बजेट दामासाहीले छुट्याइएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्ष लगायत अन्य प्रतिनिधिले गुपचुप रुपमा बाँडफाँट गरेको काँग्रेस समर्थित जनप्रतिनिधिले आरोप लगाएका छन । 

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले विकास बजेट ११ करोड जति भएको, यसमा दुई करोड जति म्याचिङ फन्ड गएको तथा बाँकी ४०÷४० लाख वडालाई विनियोजन गरी विषयगत शाखालाई बजेट राख्दा ठीकै भएको बताए। उनले भने, “काँग्रेस समर्थित जनप्रतिनिधि साथीहरुको वडामा एक करोड बजेट दिनुप¥यो भन्ने माग थियो ।  साथै विषयगत शाखाको बजेट पनि वडामै दिनुपर्ने र म्याचिङ फन्ड कम गर्नुपर्ने माग छ ।”

यो हुन नसकेपछि उनीहरुले  विरोध गरेको अध्यक्ष उपाध्यायले बताए । आफूले स्थानीय सरकार प्रमुखको हैसियतले सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिएको बताउँदै उपाध्यायले भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने दृढता व्यक्त गरे ।