कैलाली भन्सारको राजश्व दुई अर्ब घट्यो, पाँच अर्ब मात्रै संकलन
2020/07/19, 1:46
 
bhansar

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण राजश्व संकलन समेत घटेको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सारबाट हुने आयात निर्यात घटेपछि लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको हो । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷७७ मा त्रिनगर नाकाबाट १७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको जनाएको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०७५÷७६ तुलनामा १९ प्रतिशत अर्थात चार अर्ब ८ करोडले कम हो । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले आर्थिक वर्ष २०७५÷७६ मा त्रिनगर भन्सार नाकाबाट २१ अर्ब ७० करोडको सामान आयात भएकोमा भर्खरै सकिएको आर्थिक वर्ष २०७६÷७७ मा १७ अर्ब ६२ करोडको मात्र आयात भएको जानकारी दिए ।

अर्यालले आयात घटेसँगै लक्ष्य अनुसार राजश्व समेत संकलन नभएको बताए । गत वर्ष वार्षिक ६ अर्ब ७० करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको भएपनि ४ अर्ब ९२ करोड मात्रै संकलन गर्न सकिएको उनले बताए । जुन लक्ष्यको झण्डै २७ प्रतिशत अर्थात एक अर्ब १८ करोडले कम हो। आर्थिक वर्ष २०७५÷७६ मा भने कैलाली भन्सार कार्यालयले पाँच अर्ब १९ करोड राजश्व संकलन गरेको थियो ।

यसको तुलनामा भने गत वर्षको राजश्व पाँच प्रतिशतले कम रहेको छ । यस्तै कैलाली भन्सारबाट हुने निर्यातमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ८० करोड बराबरको सामान त्रिनगर भन्सार नाका भएर निर्यात भएकोमा गत वर्ष भने ५४ करोडको मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।

उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण आयात निर्यातमा कमी आएको बताए । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि अत्यावश्यक बाहेकका सामानको आयात निर्यात रोकेका कारण लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।