स्थानीय तहहरुद्धारा एउटै कामका लागि दुई पटक भुक्तानी
2020/07/19, 2:06
 
payment

कैलालीको भजनी नगरपालिकाले एउटै काममा लागि दुई पटक रकम भुक्तानी गरेको तथ्य खुलेको छ । नगरपालिका भित्रको एक सडकमा ढल निकासीका लागि नाला निर्माण गर्दा दोहोरो भुक्तानी गरेको खुलेको हो । आर्थिक बर्ष २०७५÷०७६ मा राष्ट्रपति चुरे मधेश संरक्षण समिति अन्तर्गतको बजेटबाट ७५० मिटर लामो नाला निर्माणमा नगरपालिकाले दोहोरो भुक्तानी गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५७ औं बार्षिक प्रतिवेदनका अनुसार भजनी नगरपालिकाले नालामा ढुङ्गा सोलिङ गर्दा ६७९ घनमिटरमध्ये २९७ घनमिटरको कामका लागि दोहोरो भुक्रानी दिएको हो । २९७ घनमिटरमा काम भएको छुट्टै बिल पेस गरी २४ लाख ८६ हजार भुक्तानी दिईएकोमा पछि सबै कामको एकिकृत बिल बनाई ५६ लाख ९१ हजार भुक्तानी दिईएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।

2

महालेखाले दोहोरो भुक्तानी भएको २४ लाख ८६ हजार रकम असुल गर्नुपर्ने किटान गरेको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाले कर्मचारीको तलब खर्चमा १७ लाख ७८ हजार दोहोरो खर्च गरेकोमा सो रकम समेत असुल गर्न किटान गरिएको छ । अछामकै कमलबजार नगरपालिकाले काम सम्पन्न नै नगरी एक खानेपानी आयोजनालाई ३६ लाख ८ हजार भुक्तानी गरेको छ । सो खानेपानी आयोजनाको पाइप लाइन बिस्तारको काम सम्पन्न नभएको भनि नगरपालिकाका प्राविधिकले प्रमाणित गरेका छन् ।

प्राविधिकको प्रतिवेदनलाई महत्व नदिई आयोजना कार्यान्वयन गर्ने पक्षले दिएको कार्य सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी गरिएकोले सो रकम भुक्तानी गर्ने काममा संलग्न कर्मचारीमाथि कारवाही गर्दै सो रकम असुल गर्न महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नगर कार्यपालिकालाई सुझाव दिएको छ ।