सुदूरपश्चिम प्रदेशमा दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या भएको छ । प्रदेश भरि ६ हजार ६ सय जना प्रहरीको दरबन्दी रहे पनि हाल ६ हजार ३ सय जना मात्रै प्रहरी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पनि दरबन्दी अनुसार प्रहरी नहुँदा काम गर्न समस्या भएको प्रहरी प्रमुखहरू बताउँछन् ।
बझाङ जिल्लामा तीन सय ७४ जनाको दरबन्दी रहे पनि तीन सय १५ जना मात्रै कार्यरत छन् । दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले बताए । ‘भौगोलिक विकटताले गर्दा कुनै घटनास्थल जान पनि २÷३ दिन लाग्छ ।’ उनले भने–‘हामीलाई पर्याप्त प्रहरी नहुँदा समस्या छ ।’
कैलालीमा भने दरबन्दीभन्दा बढी प्रहरी छन् । नौ सय १९ जना दरबन्दी रहेको कैलालीमा नौ सय ९४ जना कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीमा बर्षाै पहिलेको दरबन्दी अनुसार प्रहरी संख्या निर्धारण हुँदा दरबन्दीभन्दा बढी प्रहरी भए पनि प्रहरी संख्या भने कमै रहेको छ । दरबन्दीभन्दा बढी प्रहरी भए पनि कैलालीमा शान्ति सुरक्षा मजबुत हुन नसकेको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जबराले बताए ।
उनले भने–‘जिल्लाको जनसंख्या अनुसार एक प्रहरीले ७ सय मानिस हेर्नुपर्ने अवस्था छ । कैलालीमा मात्रै होईन कञ्चनपुरमा पनि दरबन्दी भन्दा बढी प्रहरी छन् । तर त्यहाँ पनि शान्ति सुरक्षा मजबुत नभएको आरोप लाग्ने गरेको छ । हाल कञ्चनपुरमा सात सय १९ जनाको दरबन्दी भए पनि नौ सय २३ जना प्रहरी कार्यरत छन् ।
समाजमा विभिन्न घटनाहरू बढ्न थालेको हुँदा दरबन्दी भन्दा बढी प्रहरी हुँदा पनि प्रहरीको अभाव सृजना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । उनले भने ‘दरबन्दी भन्दा बढी जनशक्ति छन् तर यो पनि अपुग छ ।’ कैलाली र कञ्चनपुरमा दरबन्दी भन्दा बढी प्रहरी भए पनि पहाडी जिल्लाहरूमा दरबन्दी अनुसार पनि प्रहरी छैनन् ।
प्रहरी संख्या पर्याप्त नहुँदा समस्या भइरहेको प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । ‘दरबन्दी अनुसार प्रहरी संख्या बढाउन पहल भइरहेको छ ।’ उनले भने ।