धनगढीको आईसोलेशनलाई आवश्यक सामाग्री हस्तान्तरण
2020/07/19, 8:32
 
red

धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेशनलाई आईतबार आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । जर्मन राजदुतावासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाद्धारा संचालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका वडा नं १५ कनरीमा स्थापना गरेको आईसोलेशनलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापति उत्तम जोशीले २५ थान बेड म्याट्रेस सहित, पिपिई सेट १०, रेफ्रिजेनेटर सामसुङ १ थान, नेबुलाईजर ५ थान, सेनीटाईजर मेसिन २ थान र मास्क १ हजार नगर प्रमुख नृपबहादुर वडको रहोबरमा उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायणप्रसाद बराललाई हस्तान्तरण गरेका हुन् । 

1

नगरप्रमुख नृपबहादुर वडले आईसोलशन संचालनका लागि सहयोग गर्ने जर्मन राजदुतावासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखा प्रति आभार व्यक्त गरे । दाताहरु र मनकारीहरुको सहयोगले असहज अवस्था पनि काम गर्न सहज भएको छ, नगरप्रमुख वडले भने, यसरी नै सहयोगको अपेक्षा गर्दछौं ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापति उत्तम जोशीले कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत सहयोग गरिएको बताए । उनले भने, आवश्यकता अनुसार सहयोग गरिने छ । हस्तान्तरण कार्यक्रममा कैलाली रेडक्रसका सदस्य रतन कठायत, गिता सोडारी कैलाली शाखाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।