पहिरोमा परी दुई जनाको मृत्यु, ७ घर पुरिए, १२२ बाख्रा, गाई गोरु मरे
2020/07/20, 2:06
 
pahiro

अबिरल बर्षा पछि दार्चुलाको नौगाड गाउँपालिका–६ परी गाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ७ घर पुरिएका छन् । गाउँकै परी खोलामा आएको बाढी र संगै गएको पहिरोका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर र एक जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले पहिरो आउनुको कारण भने पत्ता नलागेको बताए । उनका अनुसार पहिरोमा पुरिएका ७ घरमा च्याप्पिएर हालसम्म ८४ बाख्रा, दुई घोडा, २५ गोरु, दुई बाच्छा सहित ११ गाई समेत मरेका छन् । पहिरोका कारण शिवराज खत्री, लोकेन्द्र खत्री, र दुर्गेस खत्री गरी तीन भाइले संयुक्त रुपमा सञ्चालन गरेको बाख्रा फार्म भत्किएर ५१ बाख्रा तथा अन्य परिवारका ३३ बाख्रा मरेका प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

पहिरोका कारण वडा नम्बर २ कोे नौगाड खोला, घट्टे खोला र खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारण लाइनमा विच्छ्याइएका १ सय २० विजुलीका खम्बा पनि बगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए ।
आइतबार राती आएको भारी बर्षाकापछि धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्ग समेत अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।