धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाको निर्माण कम्पनीले काम थाल्यो 
2020/07/20, 5:35
 
sadak

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले कालिका कन्ट्रक्सनले प्रारम्भीक चरणको काम सुरु गरेको छ । कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलका अनुसार चौराहदेखि कैलाली नाला सम्मको सर्भेको काम पुरा भएको छ । त्यसैगरी गुल्म–चर्च सडकको सर्भे अन्तीम चरणमा पुगेको छ भने शहिद गेटदेखि क्याम्पस रोड सडको ३ दशमलव ५ किलो मिटर मध्य २ दशमलव ५ किलोमिटर सर्भेको काम पुरा भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधि प्रकाशचन्द्र खरेलले गएको असार २८ गते आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा संचालन भएको आयोजना अन्तरगतका अरु कामहरु सुरु भएपनि सडक र नाली निर्माणको काम अगाडी बढ्न सकेको थिएन ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका सम्झौतामा रहेको छ । पहिलो चरणमा गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहा देखि–कैलालीनाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड– चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी–खुटीया स्याउले रोड (८ सय ७० मिटर ), मालपोत रोड (४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेको छ ।

निर्धारित समयमा नै काम सम्पन्न हुने गरी अगाडी बढेको छ नगरप्रमुख वडले भने, यसका लागि आम नगरवासीको सहयोग आवश्यक पर्ने देखिन्छ । ठूलो आयोजना हामीले पाएका छौं नगरप्रमुख वडले भने, पहिलो चरणको काम पुरा भएमा दोश्रो चरणको काम सुरु हुन्छ ।