धनगढी उपमहानगरपालिकाका कर्मचारी बीच नै भुक्तानीका लागि चर्काचर्की (अडियो सहित) 
2020/07/20, 8:24
 
nagar

धनगढी उपमहानगरपालिकाका कर्मचारी बीच नै भुक्तानीका लागि चर्काचर्की हुन थालेको छ । साउनको सुरुवात लाग्दा पनि नगरपालिकाका कर्मचारीहरुकै बीचमा चर्काचर्की र विवाद हुन थालेको हो । दैनिक जसोः भुक्तानीका लागि लेखा शाखाका कर्मचारी र अन्य कर्मचारीहरुका बिचमा झगडा हुदैं आएको छ । 

सोमबार दिउँसो लेखा शाखाको कार्यकक्ष बाहिर नै लेखा शाखा प्रमुख सरस्वती जोशी र प्रशासकीय शाखा अधिकृत नारायण शर्मा विचको विवाद र चर्काचर्कीले सेवाग्राही नै जिल्ल भए । दैनिक रुपमा सयौं सेवाग्राहीहरुको भिड हुने उपमहानगरपालिकामा कर्मचारीहरुले कार्यकक्ष बाहिर आएर रमिता देखाउँदा सेवाग्राहीहरु आश्चर्यमा परे । प्रशासकीय अधिकृत शर्माले विभिन्न बैठक र कोरोना सम्बन्धी कार्यक्रम तथा त्यसको भत्ता दिन दबाब दिईरहेका थिए भने लेखा प्रमुख जोशी भने  नियम कानुन विपरित चेक हस्तान्तरण गर्न नसकिने भन्दै प्रतिवाद गर्दै आएकी थिईन् ।

आर्थिक बर्ष अर्को लागि सक्दा पनि कर्मचारीहरुले बजेट सिद्धाउन अनेक विल भरपाई लिएर रकम बुझिरहेको तर अन्य सेवाग्राहीलाई वहानबाजी गर्दै भुक्तानी समेत नदिएको एक जना सेवाग्राही प्रकाश चौधरीले गुनासो गरे । आफुलाई कहिले केही त कहिले केही भन्दै भुक्तानी नदिदा दश दिन दिनदेखि धनगढी उपमहानगरपालिका धाईरहेको भन्दै उनले कर्मचारीहरुको झगडाले अचम्ममा परेको बताए । 

यस विषयमा धनगढी उपमहानगरपालिकाका सुचना अधिकारी सुरेन्द्र कार्कीले केही पनि थाहा नभएको भन्दै पन्छिए । आवश्यक सुचना दिनका लागि तोकिएका सुचना अधिकारी कार्कीले केही पनि थाहा नभएको भन्दै पन्छिएर गैरजिम्मेवारीपन देखाए । प्रशासकीय अधिकृत शर्माले भने कार्यालयमा यस्ता विवादहरु भईरहने बताए । उनले सानातिना विवाद भईरहने र सोमवार पनि सामान्य छलफल मात्रै भएको बताए । लेखा प्रमुख जोशीले भने आफुले नियम विपरित काम नगर्दा आफुलाई थर्काएको बताए । उनले आफुले नियम अनुसार काम गर्न खोज्दा शर्माले निउ खोजेको बताईन् । तर जोशीले केही अपशब्दहरु भने विवाद र चर्काचर्कीका वेला वोलेको अडियो रेकर्डमा रहेको छ ।