आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम थालेको छ । रचनात्मक ढंगले काम कारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेता कार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम गरिरहेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए ।
विप्लव समूहले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेकोमा मंगलवार सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँ ठाउामा शंकास्पद बस्तु फेला परेका छन् । धनगढीको अधिकांश बजार बन्द रहेको छ भने निजि सवारी साधन पनि निकै कम मात्रै चलेका छन् ।
सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा सचिवालयमा समेत शंकास्पद बस्तु फेला परेको छ । विप्लव समूहले साउन ३ गते प्रचार प्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने र ६ गते सेती महाकाली बन्द गर्ने कार्यक्रम घोषणा गरिएको थियो । ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने जनाईएको छ ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओम प्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो ।