दार्चुलाका पहिरो विस्थापितलाई सुरक्षित स्थानमा सारियो, सडक अवरुद्ध, विद्युत आउन दुई साता लाग्ने
2020/07/21, 9:28
 
pahiro

दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा आइतबार राति आएको पहिरोमा परी विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । परिगाउँ खोला किनारका सात घर र एक विद्यालय समेत बाढीले बगाएको छ ।

तीन घर उच्च जोखिममा छन् । परिगाउँमा स्थानीयका ८३ वटा बाख्रा, २५ गोरु, ११ गाई, २ वटा घोडा लगायत पशुचौपाया बाढी पहिरोले बगाएका छन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारेर क्षतिको विवरण संकलन भइरहेको दार्चुलाका डीएसपी पदमबहादुर विष्टले बताए । 

पहिरोमा घर पुरिँदा ४२ वर्षीया मानमती ठगुन्ना र उनकी भतिजी ५ वर्षीया पार्वती ठगुन्नाको मृत्यु भएको छ । मानमतीका आफन्त मोहना ठगुन्नाको अवस्था गम्भीर छ । उनको शैल्यशिखरको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दार्चुलाका डीएसपी विष्टले बताए । राति नै नौगाड गाउँपालिका–३ खार खोलाको बाढीले आनसिंह ठगुन्ना, जोगी धामी र रमेशसिंह ठगुन्नाको पसल बगाएको स्थानीय रघुवीर सिंह ठगुन्नाले बताए ।

बाढीले १० वटा पानी घट्ट, ४ आरसीसी पुल, ४ काठे पुल, खेल मैदान, माछापोखरी बगाएको छ भने खार लघु जलविद्युत आयोजनाको मुहानमा क्षति गरेको उनले जानकारी दिए । विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसभित्र डुङुरी खोलाको बाढीले क्षति पु¥याएको छ ।

पावर हाउस सञ्चालनमा आउन दुई साता लाग्न सक्ने प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए । महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अवरुद्ध भएको छ । धौलीगाड खोलामा निर्माणाधीन पक्की पुलको पिलर धस्सिएको छ ।