दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता दुई जनाको शव भेटिएको छ । पहिरोमा परी ३५ वर्षीय लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको थियो भने दुई जना बेपत्ता भएका थिए ।
बेपत्ता अरुण दर्जी र मिलन दर्जी दुवैको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ । उनी दुवैजना लक्ष्मी ढोलीका भाइ रहेको जनाइएको छ । एक जना घरभित्र सुरक्षित रहेको र उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए । मंगलबार बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक पुरिएको छ ।
यस्तै पहिरोमा परी घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनीया घाईते भएका छन् । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जिवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए । घाईते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले जानकारी दिए ।
घाईतेहरुको शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ । पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाई हुन् । उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन । वडा नम्बर ८ को वडा कार्यालयको फिल्ड र शौचालय भत्किएपछि लक्ष्मीको घर पुरिएको हो । यस्तै पहिरोले शुविरसिह धामी र हरसिह धामीको पसलमा क्षति पुगेको छ ।