दार्चुलाको सीमामा चट्टान फोडेर धमाधम ट्रयाक खोलिदैं, भारतको बाटो प्रयोग गर्ने बाध्यता हट्ने
2020/07/21, 8:11
 
sadak

सामरिक हिसाबले संवेदनसिल मानिएको दार्चुलाको छाङरु– घाँटीबगर ट्रयाक खोल्ने काम नेपाली सेनाले धमाधम गरिरहेको छ । नेपाली सेनाले २५० मिटर ट्रयाक खोलिसकेको छ । बाँकी काम ढिलोमा चाँडै सकाउने गरी धमाधम निर्माण कार्य भइरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले दिए । ४५० मिटर ट्रयाक खोलेपछि छाङरु–घाँटीबगर बाटो प्रयोगमा आउनेछ ।

1

चट्टान फोडेर निर्माण भइरहेको यो घोरेटो बाटो तयार भएपछि छाङरु–घाँटीबगर बासिन्दा दार्चुला आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नुपर्ने वाध्यता अन्त्य हुनेछ । अहिलेसम्म उनीहरु भारतीय भूमि टेकेर आवतजावत गर्नुपर्ने अवस्था छ । कडा चट्टान तथा मौसमको प्रतिकुलताले गर्दा काममा केही कठिनाई भएको बताउँदै प्रवक्ता पौडेलले भने, प्रत्येक दिन सातदेखि १० मिटरको हिसाबले ट्रयाक खोल्ने काम भइरहेको छ । अबको ३०–३५ दिनभित्रमा काम सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।

2

प्रवक्ता पौडेलले यो बाटो तयार भएपछि भारतीय भूमि टेकेर गाउँ आवत जावत गर्नुपर्ने वाध्यता अन्त्य हुने बताए । दार्चुलाको छाङरु र घाटीबगर त्यही क्षेत्र हो, जुन भारतले अतिक्रमण गरेर फौज राखेको नेपाली भूमि कालापानीबाट झन्डै १० किलोमिटरको दुरीमा पर्छ । छाङरुमा सशस्त्रले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । छाङरु नजिकै घाँटीबगरमा सेनाको अस्थायी क्याम्प बसेको छ ।

1

खासगरी भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सामरिक रुपमा संवेदनशील मानिएको यो क्षेत्रमा सुरक्षा सतर्कता र सक्रियता बढाइएको हो । वैशाखको अन्तिम साता शसस्त्रको बीओपी स्थापना भएको थियो  भने जेठको पहिलो हप्ता सेनाको अस्थायी क्याम्प बसेको थियो । भारतीय भूमि टेकेर गाउँ पुग्नुपर्ने वाध्यतामा रहेका स्थानीयमा बन्दै गरेको यो बाटोले बेग्लै खुसी संचार भएको छ । सुरक्षा उपस्थितिसँगै कालापानी क्षेत्रमा बेग्लै माहोल सुरु भएको छ । गाउँ छोडेका स्थानीय फर्केर खेतीपाती थालेका छन् ।