यो वडाका मानिसहरु र खासमा युवाहरुको हालत के भाको यस्तो ? यहाँका युवाहरु संग बोल्ने तमिज, संस्कार, कता हराएको ? भर्खरैका ठिटा ठिटीहरुको हातमा किताब कापी हुनुपर्नेमा चुरोटका सर्का र चिलिम पड्काउने हुक्का हुनुमा कसको हात ? किन यहाँका अग्रजहरु यस विषयमा गम्भीर नभएका ? भोली यी युवाहरुले यो समाज कसरी हाक्छन ? यी प्रश्नहरुको उत्तर केही पढे लेखेका र जाने बुझेकाहरुसँग खोज्न थाल्यो भने छोडीदेउ हाम्रा छोराछोरी होइनन्, अरुका छोराछोरी विग्रिए भने हामीलाई के फरक पर्छ र ? भन्ने खालका प्रति प्रश्न तेर्सिन्छन् । यो विषय आजबाट भोलि र भोलीबाट पर्सि हुँदै झनझन बल्झिदै गैरहेको छ ।
म धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को मध्यम वर्गीय परिवारको सामान्य हैसियत बोकेको र पढाई लेखाइमा भर्खरै स्नातक तहको दोश्रो वर्षमा अध्ययनरत छु । देश सुध्रिएको हेर्ने र सानैदेखि शान्ति चाहने स्वाभाव रहदै गर्दा सामान्य हैसियत भएको एक जिम्मेवार नागरिक भएकोले समाजमा युवाहरुको कुरै छोड्नुस १० देखि १२ वर्षका बालकहरु पनि धुम्रपान, मध्यपान, गुण्डागर्दी, तस्करी जस्ता नकारात्मक क्रियाकलापमा गहिरिएर लागेकाहरु देख्दा मेरो मनमा उपयुक्त प्रश्न उब्जिए । उब्जिनु स्वाभाविक थियो किनकी म सामान्य हैसियत भएको मान्छे न परे । मेरो गाउँमा म लगायत थुप्रै मान्छेहरु शिक्षित छन्, प्रमाण पत्रमा शिक्षित । तर मलाई आफू प्रमाण पत्रमा मात्रै शिक्षित हुन मन लागेन र यस विषयमा अध्ययन गर्न सुरु गरे की आजकाल यी भर्खरैका बालकहरु किन यस्तो लतमा वेहोसी नशा मिलाईरहेका छन् ?
मैले अध्ययन गरिरहँदा बालबालिका विग्रनुका पछाडी बाबु आमाको बडो गैरजिम्मेवारपुर्ण व्यवहार, विद्यालयको सिकाई प्रणाली कमजोर, सरकारको लाचारपन, शिक्षित भनाउंदाहरुको विशेष गैरजिम्मेवार पुर्ण व्यवहार आदि । यस्ता थुप्रै कमजोरी छन जसको जिम्मेवारी अहिलेको पुस्ताले लिनैपर्छ र आफ्नो लाचारपनलाई कम गरी सुधार्ने प्रयत्न गर्नैपर्छ अन्यथा यो समाजको कल्पना मेरो कल्पना भन्दा बाहिर जान्छ त्यो म कल्पना पनि गर्न सक्दैन । अब यी कमजोरीको चर्चा गरौ कि साच्चै यी तत्वहरुको हात हो कि या ठाडो आरोप हो ?
मेरो समाजका अधिकांश मान्छेहरु गरिब छन तर धनमा होइन मनमा ! जग्गा जमिन प्रशस्त छ तर उपलब्धी बेरोजगारी छ । वर्षमा दुई महिना काम गर्छन । १० महिना खाली बस्छन र त्यो खाली समयमा दिनभरी गफ चुट्ने, जुवा तास खेल्ने, अर्काको कुरा काट्ने, प्रगति गर्न लागेकाहरुको खुट्टा तान्ने प्रवृति जल्दोबल्दो रुपमा देखिएको छ । जुन विद्यार्थी अर्थात विशेष रुपमा भन्ने हो भने बालबालिकाका लागि एकदमै संक्रमक रोग हो भन्न रुचाउँछु म । अनि दिनभरी जुवातास र गफगाफको भारी विसाउन स्थानीय भाषाको ठर्रा अर्थात चामलको झोल पिएर घरमा झगडा गर्न उद्धत हुन्छन ।
अनि बालबालिकालाई पिट्ने, गाली गर्ने, जस्ता प्रवृति गर्ने गर्छन । अनि बाबू आमाको झगडा हेरेर बालबालिकाको मन मस्तिष्कमा पर्ने असरले न संस्कार सिक्छन, न त राम्रो कुरा । उल्टो रक्सी खाएर झगडा गर्नुपर्छ, पिट्नुपर्छ भन्ने सोच विकास हुनुका साथै नकारात्मक प्रवृतिको विकास हुन पुग्दछ । तर अपेक्षा चाही खुबै राम्रा देख्छन , सपना खुबै खेलाउँछन तर बालबालिकालाई सकारात्मक कुरा सिकाउनमा समय दिनुभन्दा गलत कार्य गरेर समय वर्वाद सँगै बालबालिकाकी भविष्यमाथि कुषाराघात गर्न बहुत मेहेनत गर्छन । सोही असर विद्यालयमा पर्दछ ।
उनीहरु विद्यालयमा पनि नकरात्मक सोच्न बाध्य हुन्छन किनकी त्यहाँ पनि उ त्यस प्रकारको हुनुको कारण वा खराब हुनुको कारण पत्ता लगाउनुको साटो उल्टै पिटिन्छ, हप्काईन्छ । उसका लागि किताबमा लेखिएका सही कुरा पनि फिका लाग्न थाल्छन । उ आफ्नो भविष्य किताबमा हैन चुरोटको ठुटो र चिलिममा देख्दछ । सपना फरक हुन्छ दृष्टि झनै फरक । हरेक दिनको गालीले उसलाई पढाउने शिक्षक प्रति नै नकारात्मक छायाँ पर्न जान्छ र शिक्षकका लागि पनि घातक बन्दछ । राती घरको किचलो, विहान विद्यालयको तनावले जिन्दगीको आधा हिस्सा गुमाईसकेको भान पर्दै जान्छ । सोही अनुरुप आफ्नो जिन्दगीको माया लाग्न छोड्छ र समाजमा उदण्ड मच्चाउन झनै प्रेरित हुन्छ । विद्यालय सँगै जन सुरक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक लगायत अन्य जिम्मेवारी बोकेको सरकार कुर्चीवादको शिलशिलाको चक्र घुमानमै रुमल्लिएको छ ।
बुढाहरुले सरकार चलाएका छन जो उमेरले बुढा नै छन मनले पनि बुढा भैसकेका छन । उनीहरुमा न त समाजको जिम्मेवारी थाहा छ, न अरुबाट सिक्ने वा युवाहरुको संगठित सुझाव लिन सक्ने पाचन शक्ती नै छ । उनीहरुको त केवल भ्रष्ट शक्ती मजबुत छ । विद्यालयको हालत के भएको छ कुनै मतलब छैन, स्वास्थ्य स्थिति कस्तो छ त्यो त आकाश र पातालबिचको दुरी जति छ । त्यति नै दुरीमा बस्छन बुढा प्रतिनिधि । विद्यालयको सुधार हैन शिक्षकलाई आफ्ना भातृ संगठन बनाएर विद्यालयको सिक्ने वातावरण भत्काउदै गैरहेका छन ।
कुर्चीमा चढ्ने भर्याङ बनाएका छन जसले गर्दा ती कुर्चीका मालिकको सेवा गर्ने कामबाट एकछिन फुर्सद मिलेको छैन त कसरी विद्यार्थी अब्बल हुन्छन ? यस्तो प्रवृतिले देशको विकास नै संक्रचित गरी विनाशको बाटो तय गरिसकेको छ । यस्ता केही अधिकांश शिक्षकहरुले समाजको चित्र नै बिल्कुल खराब गरिसके । यति भनिसकेपछि शिक्षकको गल्ती होईन र भन्ने प्रश्न आउन सक्छ तर विचरा ती शिक्षकहरुले पनि त शिक्षक बन्नका लागि तिनका गोडा समात्नुपर्ने, चाकरी गर्नुपर्ने अनिवार्यता गरेको छ । समाजको विकास गर्छु भनेर चुनिएकाहरुले झन समाज गरिब बनाएको, गफ चुट्ने, जुवा तास खेल्ने, जस्ता क्रियाकलाप गर्न खुल्लमखुला बजारको सृजना गरेको छ त ? अनि कताबाट सुध्रियोस समाज अनि समाजका नागरिकहरु । अनि यस्तो भनिरहँदा फेरि शिक्षितहरुको के दोष भन्ने प्रश्न पनि मनमा उब्जिन सक्छ र त्यो प्रश्नको उत्तर तपाई हामी जस्ता पढे लेखेका मान्छेले आफैलाई एकचोटी प्रश्न गर्नु भो भने थाहा पाई हाल्नु हुन्छ तर म त्यति तपाईंलाई दुःख दिदैन ।
आफू शिक्षित भनेर भन्छन तर ग्रहण गरेको शिक्षा कतै लागू गर्दैनन । कोही शिक्षा ग्रहण गरेर शिक्षक बन्दछन, कोही डाक्टर, ईन्जिनियर त कोही प्रहरी कोही शिक्षा ग्रहण गरेर शिक्षक बन्छन, कोही डाक्टर, ईन्जिनियर त कोही प्रहरी अनि कोही कर्मचारी । यस्तै कर्ममा लागिरहन्छन तर तिनी पनि त्यही व्यवहार देखाउँछन जो आफुले भोगेका हुन्छन । उनीहरु आफू सुध्रियो भने भईहाल्यो बाँकी भाडमा जाओस भन्ने शब्दको प्रयोग गर्न बढी रुचाउँछन् । शिक्षकले आफ्नो धर्म भुल्छ, कर्मचारी त्यस्तै, प्रहरी पनि त्यस्तै, डाक्टर, ईन्जिनियर पनि त्यस्तै अनि समाजलाई न्याय दिन्छु भनेर लागेका अन्यायका पुजारीहरु झन नेताको चाकरीमा आफ्नो समय, मन लगाउँछन तर कहिल्यै जनमुखी काम हुदैनन, गर्दैनन् । अनि यस्तो प्रकारको समाज देखेपछि एउटा शान्ति चाहने बालक कस्तो बन्न सक्छ एकचोटी कल्पना गर्नुस त खै । तपाईको समाज कस्तो संरचनामा रपान्तरित हुदैछ एकचोटी नजर लगाउनुस त खै !
अब यतिको विश्लेषण म एक सामान्य हैसियत भएको नागरिकले गरेको छु । जताबाट सुरु हुन्छ जिन्दगी त्यतैबाट तनाव सुरु हुन्छ, अन्य ठाउँ जान्छ झन अपहेलना भोग्छ अनि आफ्नो चारैतिर त्यस्तै देख्छ र जस्तो देख्यो त्यस्तै नक्कल गर्दछ । यो मानिसको स्वभाव हो तसर्थ हरेक पक्षले आफ्नो जिम्मेवारी सही तरिकाले निर्वाह गर्नुपर्छ नत्र समाजको रुपरेखा नै कुच्चिएको अनुहार जस्तो हुन्छ । शिक्षकले शिक्षक भएर काम गर्नुपर्यो न कि कार्यकर्ता भएर । अन्य कर्मचारीसँगै नीति निर्माता सच्चिनु जरुरी छ त भनिरहेका छौ । यति भनिरहँदा नमान्ने स्थिति सिर्जना गरियो भने देशको संरचना नै पुनसंरचित हुन सक्छ ध्यान दिउँ है !