कैलालीको लम्कीचुहा नगरपालिका–१ वडा कार्यालयले कोरोना (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनको काममा ७३ लाख बढी खर्च गरेको छ । वडा कार्यालयले कोरोना पोजेटिभ देखिँदा गाउँ सिल गरेको र खटाईएका स्वयंसेवकको भत्ता शीर्षकमा मात्रै ८ लाख ८९ हजार खर्च गरेको छ । विभिन्न क्वारेन्टिनमा खटिएका समिति तथा उप–समितिलाई भत्ता भन्दै १ लाख ९२ हजार रुपैयाँ बढी रकम खर्च गरेको छ ।
सो वडामा कोरोना संक्रमित भने एक जना मात्रै देखिएका छन । वडाले पहिलो चरणमा १८ जना स्वयंसेवक खटाएको थियो । दोस्रो चरणमा चेतना प्राविमा २ जना, शारदा माविमा ७ जना, लम्की बहुमुखी क्याम्पसमा ५ जना, बाल कल्याण मावि भुरुवामा ५ जना गरी १९ जना स्वास्थ्यकर्मी र स्वयंसेवक खटाएको जनाएको छ । स्वयंसेवकलाई करकट्टी गरेर दैनिक ५ सय र स्वास्थ्यकर्मीलाई दैनिक १ हजार भत्ता दिइएको वडासचिव विष्णुकान्त प्याकुरेलले जानकारी दिए । उनले नगरपालिकाबाट ४५ लाख पेस्की लिईसकेको र बाँकी रकम लिन बाँकी रहेको बताए ।
वडा कार्यालयले सेनिटाइजर, मास्क, ग्लोब्स लगायत स्वास्थ्य सामग्री खरिदमा १ लाख ४५ हजार खर्च गरेको छ । कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, खाद्यान्नमा ६ लाख १३ हजार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खाना खर्चबापत १ लाख ४८ हजार, खानेपानी र बिजुली खर्च २ लाख ५२ हजार, ६ वटा होटलबाट प्राप्त बिल शीर्षकमा ३६ लाख ११ हजार खर्च गरेको छ । वडा कार्यालयले विभिन्न शीर्षकमा गरी जम्मा ७३ लाख ८६ हजार ३ सय अठार रुपैयाँ खर्च गरेको छ ।
लम्कीचुहा नगरपालिकाभर ९ सय ८८ जना क्वारेन्टिनमा बसेका र ९३ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिका सूचना अधिकारी माधवकुमार जैसीले बताए । ९३ जना संक्रमितलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए । नगरपालिकाबाट वडा सचिवको नाममा भुक्तानी हुने र खर्चको अधिकार पनि वडा कार्यालयमातहत हुने जैसीले बताए।
हामीले नगरपालिकाको कोरोना व्यवस्थापन तथा रोकथाम नाममा भएको खर्च विवरण माग्दा नगर प्रमुखदेखि लेखा अधिकृतसम्म कोही पनि सम्पर्कमा भने आएनन । बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले लम्कीचुहा नगरपालिकामा छापा हानेको छ ।