सुदूरपश्चिममा सिद्धियो रासायनिक मल, रित्तियो गोदाम
2020/07/25, 1:16
 
mal

सुदूरपश्चिममा रासायनिक मल सिद्धिएपछि गोदाम रित्तिएको छ । धान खेतीका लागि युरिया मलको आवश्यकता भएपनि मलको मौज्दात सिद्धिएपछि गोदाम रित्तिएको छ । रासायनिक मलको विक्रि वितरणको अधिकार पाएका कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग रसायनिक मलको एक दाना समेत रहेको छैन् । भारतबाट रसायनिक मल ल्याउन नपाएका किसानले डिएपी बिना धान रोपेका थिए ।

रोपाइ सकिएपछि आवश्यक युरिया मल नपाएपछि उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । सुदूरपश्चिममा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन युरिया, १० हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको आवश्यकता पर्छ । तर यो वर्ष कृषि सामाग्री कम्पनी लिमिटेडले ११ हजार पाँच सय ३४ मेट्रिक टन युरिया, सात हजार पाँच सय ९७ मेट्रिक टन डिएपी र दुई सय ५७ मेट्रिक टन पोटास वितरण गरेको छ । अ

हिले नै कृृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा मलको मौज्दात शुन्य भएको छ । दुई सय ८० मेट्रिक टन पोटास बाहेक अन्य रासायनिक मलको मौज्दात सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड सुदूरपश्चिमका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए । अन्य वर्षको तुलनामा यो वर्ष रासायनिक मल बढी वितरण गरेकोले मल सिद्धिएको बताउँदै उनले भदौ सम्म मल आउने सम्भावना पनि नरहेको जानकारी दिए । 

धान गोडमेलको समय भएकाले अहिले किसानलाई युरिया मलको आवश्यकता पर्ने भएकोले किसान युरियाका आउने गरेरका छन् । मल नपाउँदा उनीहरु रित्तै हात फर्किन बाध्य भएका छन् । मलको मौज्दात सकिएपछि किसानहरु महंगोमा मल खरिद गर्न बाध्य भएका छन् । धान गोडमेलको समय भएकाले युरियाको आवश्यकता भएपनि नपाएको गोदावरी नगरपालिका वडा नम्बर ९ का किसान खेमबहादुर ठकुल्लाले बताए ।

सुदूरपश्चिममा आउने रासायनिक मलमा ७० प्रतिशत कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेसनले सहकारी मार्फत किसानलाई वितरण गर्दै आएका छन् । साल्ट ट्रेडिङसंग पनि अहिले आवश्यक युरिया मलको मौज्दात सकिएको छ । साल्ट ट्रेडिङले पाँच हजार ६ सय ८७ मेट्रिक टन युरिया, चार हजार सात सय ५३ मेट्रिक टन डिएपी र तीन सय ५३ मेट्रिक टन पोटास वितरण गरेको साल्ट ट्रेडिङ कर्पाेरेसनका सूचना अधिकारी रामचन्द्र जोशीले बताए ।