भारतीय क्वारेन्टाईनका नेपालीहरुको उद्धार गरिदैं, नेपालमा रहेका भारतीयहरुलाई पनि घर पठाउने तयारी हुदैं
2020/05/15, 1:40
 
udhar

सीमावर्ती भारतीय बजार पलियाको क्वारेन्टाईनमा रहेका नेपालीहरुको आज उद्धार गरिदैछ । ४९ देखि पलियाका विभिन्न क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई आज नेपाल प्रवेश गराउन पहल भएको हो । पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहटका एकरएक गरी एक सय ८० जना रहेका छन । जसमध्ये ४ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काउने तयारी भएको हो । पलियामा तीन सय नेपाली रहेकोमा उनीहरु मध्ये क्वारेन्टाइन अवधि पुरा गरेका एक सय ८० जनालाईे उद्धार गर्दै नेपाल ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले जानकारी दिए । उनीहरुको साँझसम्म उद्धारका लागि पहल भईरहेको प्रशासनले जनाएको छ । त्यसका लागि भारतको खिरी जिल्लाका अधिकारीसंग छलफल भईरहेको बताईएको छ  ।

भरतीय क्वारेन्टाईनमा रहेका उनीहरुले उद्दारका लागि स्थानीय प्रशासनले आग्रह गर्दै आएको पनि गृह मन्त्रालयको अनुमति नपाउदा उद्धार हुन  सकेको थिएन । स्थानीय प्रशासनको लामो प्रयासपछि उनीहरुको उद्धार हुन लागेको हो । उनीहरुको उद्धारको विषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका बीचमा छलफल भएको थियो ।

यसैबीच भारत सरकारको आग्रहमा कैलालीमा रहेका भारतीय नागरिकहरुलाई पनि भारत पठाउने तयारी थालिएको  छ । काठमाण्डौ स्थित भारतीय दूतावासको आग्रहमा कैलालीका विभिन्न स्थानमा रहेका भारतीय नागरिकहरुको नामावाली संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई भारत पठाउने प्रकृया थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता तथा प्रशासकीय अधिकृत  शिवराज जोशीले आजसम्म विभिन्न स्थानीय तहमा रहेका ८ सय बढी भारतीयको नामावली संकलन भईसकेको र आवश्यक प्रकृया पुरा भएपछि उनीहरुलाई भारत पठाईने बताए । टीकापुरमा रहेका २६ र जोशीपुरमा रहेका ४ जना भारतीय नागरिकलाई आज धनगढी ल्याईएको छ ।  

उनीहरुलाई धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा राखिएको छ । त्रिनगरमा १०३ जना भारतीय नागरिक पहिले देखि नै क्वारेन्टाईनमा छन् । जिल्लाभरीका नामावली संकलन पुरा भईसकेपछि भारतीय नागरिकहरुलाई भारत पठाईने जोशीले बताए ।