एक करोड ४५ लाखमा पिसीआर मेसिन स्थापना हुदै
2020/07/25, 7:37
 
pcr

बझाङमा  पिसीआर मेसिन खरीद गरिने भएको छ । जेठ २६ गते जिल्लाका १२ स्थानीय तह र जिल्ला समन्वयन समितिले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । अब १५ दिनभित्र मेसिन खरिद गरेर जिल्लामा आइपुग्ने जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेण्डेन्ट सन्दीप ओखेडाले जानकारी दिए । उनका अनुसार यसअघि असार १ गते भित्र पिसीआर मेसिन खरिद गरेर संचालनमा ल्याइने भनिए पैसा संकलनमा ढिलाइ भएको थियो ।

अहिले टेण्डर आह्वान भइसकेको र आइतवार सम्झौता भएर अबको १५ दिनभित्र मेसिन जिल्लामा ल्याइने डाक्टर ओखेडाले बताए । ‘भदौ १ बाट पूर्ण रूपमा मेसीन सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।  स्थानीय तहमध्ये १० गाउँपालिकाबाट १०÷१० लाख,  २ नगरपालिकावाट १५÷१५ लाख र जिल्ला समन्वय समितिबाट १५ लाख गरी १ करोड ४५ लाख रकममा मेसिन ल्याउन लागिएको हो ।

जिल्ला अस्पतालको क्वाटरका लागि निर्माण भएको भवनमा उक्त मेसिन राखेर सञ्चालन गर्ने तयारी गरिएको छ । मेसिन सञ्चालनका लागि पाँच जना कर्मचारी राखिने बताए । मेसीन सञ्चालनका लागि १५ जनासम्म कर्मचारी चाहिने उनले जानकारी दिए । सुदुरपश्चिम प्रदेशमा धनगढी र डडेलधुरामा पिसीआर मेसिन संचालनमा छ । कोरोना भाइरस महामारी अझै कायमै रहेकोले जिल्लामा मेसिन संचालन भए धनगढी, डडेलधुरामा स्वाब पठाउनु पर्ने बाध्यता हट्ने भएकाले मेसिन खरिद गरी सञ्चालन गर्न लागिएको हो ।